जिसस बाग्लुङको प्रमुखमा थापा सर्वसम्मत

शुक्रबार, २७ जेठ, २०७९
डिजिटल संस्करण

कांग्रेसको स्पष्ट बहुमत भए पनि पूर्वसहमतिअनुसार कांग्रेसले प्रमुख जनमोर्चा र उपप्रमुख एकीकृत समाजवादीलाई छाड्यो

जिल्ला समन्वय समिति बाग्लुङको प्रमुखमा राष्ट्रिय जनमोर्चाका अमर थापा सर्वसम्मत निर्वाचित भएका छन् । उपप्रमुखमा एकीकृत समाजवादीका होमनाथ शर्मा पनि सर्वसम्मत भएका छन् । सत्तासाझेदार पाँचदलीय गठबन्धनबाट साझा उम्मेदवार रहेका थापा र शर्मा सर्वसम्मत भएका हुन् । गठबन्धन दलका उम्मेदवारको मात्र उम्मेदवारी परेपछि प्रमुख, उपप्रमुखसहित सदस्य पनि सर्वसम्मत भएको प्रमुख निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 

एकीकृत समाजवादीका शर्माले कांग्रेसका तर्फबाट उपप्रमुखमा उम्मेदवारी दिएका थिए । उनी ३० वैशाखको निर्वाचनमा कांग्रेसकै रूख चिह्नबाट लडेर निर्वाचित भएकाले जिसस उपप्रमुखमा पनि कांग्रेसबाटै उम्मेदवारी दिएका हुन् ।

बाग्लुङमा एउटा मात्रै प्रमुख जितेको एमालेले कुनै पनि पदमा उम्मेदवारी दिएन । निर्वाचनको कार्यतालिकाअनुसार आगामी ३१ गते मतदानको कार्यक्रम रहे पनि कुनै पनि पदमा आवश्यकभन्दा बढी उम्मेदवारी नपरेकाले निर्वाचन कार्यालयले समय मिलाएर औपचारिक घोषणा गर्ने सहायक निर्वाचन अधिकृत गंगाधर सापकोटाले जानकारी दिए ।

सदस्यहरूमा महिला सदस्यमा कांग्रेसकी हरिकला पौडेल, माओवादी केन्द्रकी जशोधा शर्मा र राष्ट्रिय जनमोर्चाकी धनकुमारी खत्री सर्वसम्मत चयन भएका छन् । अल्पसंख्यक दलित सदस्यतर्फ कांग्रेसकी कौशिला विक, खुला सदस्यतर्फ माओवादीका हर्कबहादुर पाण्डे, कांग्रेसका टेकबहादुर अर्गेजा र पदमबहादुर क्षेत्री सर्वसम्मत निर्वाचित भएका छन् ।

 काठेखोला गाउँपालिका–४ तंग्रामका अमरबहादुर थापा राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष हुन् । उनी काठेखोला गाउँपालिका–४ बाट वडासदस्यमा निर्वाचित भएका थिए । जिससमा कांग्रेसको बहुमत रहे पनि पूर्वसहमतिअनुसार कांग्रेसले प्रमुख, उपप्रमुख छाडेको हो । 

See More On

सुझावित समाचार