कांग्रेस नेतृत्वको अबको कार्यभार

स्थानीय तहको सफल निर्वाचनपछि अब प्रदेश र संघको निर्वाचन गर्ने दायित्व सरकारसामु भएकाले कांग्रेस नेतृत्वले पार्टीलाई एकताबद्ध बनाउँदै बहुमत ल्याउन नवनिर्वाचित कार्यसमितिलाई परिचालित गर्न सक्नुपर्छ

शुक्रबार, २७ जेठ, २०७९
डिजिटल संस्करण

अनेकन् आशंकाबीच स्थानीय तह निर्वाचन सम्पन्न भएको छ । एक स्थानीय तहमा विवादका कारण रोकिएबाहेक ३० वैशाखमा एकै चरणमा निर्वाचन सम्पन्न भएको छ । नवनिर्वाचित जनप्रतिनिधिले पाँचवर्षे कार्यकाल सुरुवातसमेत गरिसकेका छन् । निर्वाचन सम्पन्न भएपछि कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा जबर्जस्त रूपमा लाग्दै आएको एउटा आक्षेपबाट मुक्त भएका छन् । उनलाई प्रतिपक्षीले त कुनै काम समयमा नगर्ने र गरेका काम जनपक्षीय नहुने आरोप लगाउँथे । त्यति मात्र होइन, पार्टीभित्रै पनि उनले अनेकन् आरोप खेप्दै आएका थिए ।

सम्पन्न भएका काम : ०७४ मा कांग्रेसले स्थानीय, प्रदेश सभा र प्रनितिधिसभा निर्वाचनमा अप्रत्यासित हार व्यहो¥यो । प्रदेश सभा र प्रतिनिधिसभा निर्वाचनमा तत्कालीन दुई ठूला वाम दल एमाले र माओवादीबीचको चुनावी तालमेल कांग्रेस हार्नुको कारक थियो । स्थानीय तह निर्वाचनमा भने सत्ताको सहयात्री माओवादीसँग निश्चित स्थानमा तालमेल गरे पनि अपेक्षाकृत नतिजा आएन । यही विषयलाई लिएर अहिलेको स्थानीय तह निर्वाचनमा पनि सत्तारुढ दलबीच भएको गठबन्धन सफल हुन्न भन्ने धेरै थिए । तर, आंशिकबाहेक गठबन्धन सफल देखियो । आफ्नै पार्टीभित्रका नेतासमेतले गठबन्धन सफल हुँदैन, पार्टी एक्लै निर्वाचनमा होमिँदा धेरै सिट जित्छ, एमाले विभाजित भएकाले उनीहरूको जनाधार कमजोर छ भनिरहेका थिए । निर्वाचनको नतिजाले कांग्रेस एक्लै लडेको भए के हुने थियो र एमालेको जनाधार कस्तो रहेछ भने छर्लंग पारेको छ । असफल बनाउने अनेकन् प्रयासबीच गठबन्धन सफल देखिएको छ । फलस्वरूप प्रदेश सभा र प्रतिनिधिसभा निर्वाचनमा पनि तालमेलबारे शीर्षनेताबीच कुराकानी सुरु भएको छ । जुन देउवाको अठोट र लगनशीलता, उनका पार्टीभित्र र सरकारमा पार्टीका तर्फबाट सहभागी सहपाठीहरूको क्रियाशीलताले गर्दा नै हो । 

देउवाले स्थानीय निर्वाचन मात्रै होइन, अमेरिकी सहयोग नियोग (एमसिसी) पनि जोखिम मोलेर संसद्बाट पास गराए । ३२ महिनाअघि आफ्नै नेतृत्वको सरकारले हस्ताक्षर गरेको एमसिसीलाई सत्तामा हुँदा होस् या प्रतिपक्षमा, पास गर्ने भनाइ परिवर्तन गरेनन् । वेलावेलामा धेरैले उनलाई गर्न नसक्ने कामको वकालत किन गरिरहेको भन्दै आलोचना गरिरहन्थे । तर, अनेकन् अड्कलबाजी र सत्ता गठबन्धनमा रहेका माओवादी र एकीकृत समाजवादीका अधिकांश नेताको चर्को विरोध हुँदाहुँदै पनि कसैको विरोधविनै संघीय संसद्बाट त्यसलाई पास गराए । धेरैले एमसिसी संसद्मा निर्णयार्थ प्रस्तुत भएमा सत्ता गठबन्धन भताभुंग हुने विश्लेषण गरेका थिए । तर, एमसिसी पनि पारित भयो र गठबन्धन पनि कायम रह्यो । 

स्थानीय निर्वाचन र एमसिसी सत्ता तथा राष्ट्रिय राजनीतिसँग जोडिएका विषय थिए । कांग्रेसमा समेत देउवाले संविधान र पार्टी विधानअनुरूप महाधिवेशन गर्न सक्दैनन्, कांग्रेस कोल्याप्स हुने खतरा बढ्यो भन्दै पार्टी नेताले सार्वजनिक रूपमै बोलेका थिए । त्यसलाई गलत साबित गर्दै संविधानमा भएको व्यवस्थामै अडिएर मंसिरमा पार्टीको १४औँ महाधिवेशन सम्पन्न गर्दै चारवर्षे कार्यकालका लागि पुनः सभापतिमा विजयी भए । 

महाधिवेशनले पार्टीभित्र र बाहिरको कांग्रेस बूढो रुख हो, नेताहरू बूढा पुराना मात्रै छन्, नयाँले कार्यकारी निकाय केन्द्रीय पदाधिकारी र समितिमा मौका पाउँदैनन् भन्नेहरूलाई दह्रो झापड दियो । केन्द्रीय कार्यसमितिमा आधाभन्दा बढी नयाँ अनुहारले प्रवेश पाएका छन् । पदाधिकारीमै सभापति देउवा र उपसभापति पूर्णबहादुर खड्काबाहेक नयाँ अनुहार आएका छन् । पदाधिकारीका अनुहारले नै बूढो रुख भनेर कांग्रेसलाई आरोप लगाउनेहरूलाई झापड दिएको छ । देशले भर गर्न सक्ने नयाँ पुस्ता पार्टी नेतृत्वमा पुगेको छ । महाधिवेशनमार्फत कांग्रेसले संविधानले व्यवस्था गरेको समानुपातिक समावेशी प्रतिनिधित्वको पनि सुनिश्चितता गरेको छ । नेपालका सबै समुदायको प्रतिनिधित्व केन्द्रीय समितिमा भएको छ । जसले अस्तित्वमा रहेका अन्य राजनीतिक दलभन्दा समावेशी, लोकतान्त्रिक पार्टी मात्रै होइन, नेपालमा समावेशी राजनीतिलाई व्यवहारमै कार्यान्वयन गर्ने पहिलो दल कांग्रेस हो भन्ने प्रमाणितसमेत भएको छ । 

अब गर्नुपर्ने काम : अब प्रदेश सभा र प्रतिनिधिसभा निर्वाचन गर्ने दायित्व सरकारसामु छ । पार्टीको नेतृत्वकर्ताका हैसियतले पार्टीलाई एकताबद्ध बनाउँदै बहुमत ल्याउन नवनिर्वाचित कार्यसमितिलाई परिचालन गर्नुपर्नेछ । पार्टीका प्रमुख भ्रातृसंस्थाहरू नेपाल विद्यार्थी संघ, नेपाल तरुण दल, नेपाल महिला संघ, किसान संघलगायत र शुभेच्छुक संस्थाहरू अझ जुझारु र ऊर्जाशील बनाउन आवश्यक छ ।

अबका नयाँ पुस्ताले पार्टीको इतिहास होइन, पार्टीको कार्यदिशा कस्तो छ, आगामी दिनमा युवाका लागि के–के योजना ल्याउँछ भन्ने हेर्छन् । त्यसका लागि पार्टीमा अब वैचारिक र सांगठनिक प्रशिक्षण दिनु आवश्यक छ । अब कांग्रेस अरू पार्टीभन्दा वैचारिक रूपमा स्पष्ट र सांगठनिक रूपमा प्रशिक्षित हुनुपर्छ । केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानमार्फत प्रशिक्षणको व्यवस्था गर्नुपर्छ । वस्तुगत अवस्था र आवश्यकतालाई केन्द्रमा राखेर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिवेशलाई आत्मसात् गर्न सक्नु आजको आवश्यकता हो । 

कांग्रेसको नीति र सिद्धान्त उपयुक्त लागेर पार्टीप्रति आकर्षित हुने धेरै छन् । उनीहरूलाई पार्टीमा ल्याएर संगठित गर्न अहिलेसम्म क्रियाशील सदस्यता व्यवस्थित हुन सकिरहेको छैन । विधानमा गरिएको व्यवस्थाअनुसार क्रियाशील सदस्यता वितरण सहज बनाइनुपर्छ । महाधिवेशन हुने वर्ष होइन, अन्य वर्षमा मात्र सदस्यता वितरणको व्यवस्था मिलाउन सक्नुपर्छ । हरेक वर्ष क्रियाशील सदस्यता वितरण गर्ने र वडा, पालिका, क्षेत्र हुँदै जिल्लाले अद्यावधिक गर्ने परिपाटी विकास गर्नुपर्छ ।

अहिलेसम्मको कांग्रेसको विगत हेर्ने हो भने सरकारमा गएका वेला पार्टीमा धेरै समन्वय गरेको देखिँदैन । सरकारमा भएको वेलामा पार्टीले सुझाब दिए पनि सरकार आफ्नै तरिकाले अगाडि बढ्ने गरेको देखिन्छ । जसले धेरैमा असन्तुष्टि देखिने गरेको पाइन्छ । अब पार्टीले सरकार सञ्चालनमा हस्तक्षेप नगर्ने तर सरकारले पार्टीको सुझाबलाई ग्रहण गर्ने परिपाटी बसाउनुपर्छ । जिम्मेवार, परिपक्व र सुखदुःखको पार्टी भएकाले जनताका आशा र अपेक्षालाई मध्यनजर गर्दै सुझबुझसाथ अगाडि बढ्नु आजको टड्कारो आवश्यकता हो । 

अन्त्यमा : धेरैले भन्ने गर्छन्, नेपालमा अन्य पार्टी कुरा गर्छन्, कांग्रेसले काम गरेर देखाउँछ । एमसिसी सदनबाट पास गर्ने र स्थानीय तह निर्वाचन एकै चरणमा सम्पन्न गर्ने कार्यले कांग्रेस नेतृत्वले यस कथ्यलाई प्रमाणित गरेको छ । अझै उसको काँधमा प्रदेश सभा र प्रतिनिधिसभा निर्वाचन सम्पन्न गर्ने कार्यभार बाँकी छ । त्यो कार्यभार एक्लै सम्पन्न हुन सक्दैन ।

(तिमल्सिना कांग्रेस महासमिति सदस्य हुन्)

सुझावित समाचार