बुधबार ६० अंकभन्दा बढी अंकले बढेको सेयर बजार बिहीबार भने गिरावट आएको छ। नेप्से सूचक १७.६४ अंकले घटेर दुई हजार ६२.८० बिन्दुमा झरेको हो।
आज कारोबारमा आएका २२९ कम्पनीको ४१ लाख ५६ हजार १०४ कित्ता सेयर एक अर्ब ४७ करोड २६ लाख ९० हजार ५५४ रुपैयाँबराबरमा कारोबार भएको छ। बुधबारको तुलनामा बिहीबार कारोबार रकममा गिरावट आएको छ। बुधबार एक अर्ब ६४ करोड ३ लाख ५६ हजार रुपैयाँबराबरको सेयर खरिदबिक्री भएको थियो।
आज कारोबारमा आएका १३ उपसमूहमध्ये १२ उपसमूहको परिसूचक नकारात्मक देखिएको छ भने एउटा उपसमूहको सूचक सामान्य अंकले बढेको छ। जसमा विकास बैंक र फाइनान्स उपसमूहको सूचक सबैभन्दा धेरै घटेको छ भने व्यापार तथा प्रशोधन उपसमूहको परिसूचक ०.१२ प्रतिशतले बढेको छ।
नेप्सेमा गिरावट आए पनि उपकार लघुवित्त र बलेफी हाइड्रोपावरको सेयरमूल्य भने उच्च अंकले बढेको छ। यता, सिंगटी हाइड्रोपावरको सेयरमूल्य सबैभन्दा धेरै ५.३४ प्रतिशतले घटेको छ।
कारोबारको आधारमा आज कुमारी बैंकको सबैभन्दा धेरै ६ करोड ७४ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ भने हिमालयन डिस्टिलरीको ४ करोड ३२ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ।