एकल महिलाको बीभत्स हत्या : आमासँगै छोरी मार्ने प्रयास, बलात्कारपछि हत्या गरिएको आशंका

बिहिबार, २६ जेठ, २०७९
डिजिटल संस्करण
एकल महिलाको बीभत्स हत्या : आमासँगै छोरी मार्ने प्रयास, बलात्कारपछि हत्या गरिएको आशंका

अनिभा खडायतको हत्या गरी खरको थुप्रोमा राखी लगाइएको आगो

दार्चुलाको शैल्यशिखर नगरपालिका–१ बारिलकी ४० वर्षीया अनिभा खडायतको हत्या गरिएको छ । घरनजिकैको खरको लुटोमा आगो लगाएर ती महिलाको हत्या गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका डिएसपी प्रतीक विष्टले जानकारी दिए । ‘घटनास्थलमा ढुंगा र टाउकोमा चोट देखिएको छ,’ उनले भने, ‘घटनाको अनुसन्धान जारी छ ।’ 

आमाको हत्या भएपछि छोरी गौमती खडायतले गाउँलेलाई जानकारी गराएकी हुन् । ‘आमासँगै खरको लुटोमा जलाएर छोरीको समेत हत्या प्रयास भएको रहेछ,’ शैल्यशिखर नगरपालिका–१ का वडाध्यक्ष भरतबहादुर खडायतले भने, ‘छोरीले भागेर ज्यान बचाएकी छन् ।’

गौमती भागेर छिमेकी रणवीर खडायतको घरमा पुगेपछि ज्यान जोगाउन सफल भएको उनले बताए । छिमेकीका अनुसार हत्यामा संलग्न भएकाहरू बुधबार बिहान ३ बजे मदिरा सेवन गरी अनिभाको घर पुगेको र महिलालाई घरबाहिर बोलाएका थिए । 

घटनाको प्रकृति हेर्दा बलात्कारपछि हत्या भएको आशंका स्थानीयले गरेका छन् । एकजना महिलालाई घरबाहिर बोलाएर मदिरा सेवन गरेका तीनजना पुरुषले बलात्कार गरेको हुन सक्ने आशंका गरिएको छ । घरबाहिर गएको केही समयपछि छोरीले आमालाई फोन गर्दा मोबाइल अफ गरिएको थियो । ४ बजे बाहिर आएर हेर्दा घरभन्दा माथिल्लो खेतमा रहेको खरमा आगो लागेको थियो । 

प्रहरीले घटनामा संलग्न रहेको आंशकामा छिमेकी वीरेन्द्र खडायत र तुला खडायतलाई नियन्त्रणमा लिएको छ । अर्का भोजबहादुर खडायत फरार छन् । पक्राउ परेका वीरेन्द्र माओवादी केन्द्र शैल्यशिखर नगर कमिटी उपाध्यक्ष हुन् । फरार रहेका भोजबहादुर नेपाल विद्युत् प्राधिकरण बलाँच केन्द्रका सुरक्षा गार्ड हुन् । 

मृतक महिलाका श्रीमान् सात वर्ष पहिले बितेका थिए । मृतकका दुई छोरी र एक छोरा छन् । अनिभाको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल दार्चुला ल्याइएको छ । जटिल घटना भएकाले जिल्ला अस्पताल ल्याएर पोस्टमार्टम गर्ने र थप अनुसन्धान अघि बढाउने प्रहरीको तयारी छ । 

See More On

सुझावित समाचार