प्रधानसेनापति प्रभुराम शर्माको अमेरिका भ्रमणको पूर्वसन्ध्यामा अमेरिकी वरिष्ठ जर्नेल पाँच दिनका लागि नेपाल आउन लागेका छन् । अमेरिकी प्यासिफिक कमान्डका कमान्डिङ जनरल चार्ल्स ए फ्लाएन बुधबार (२६ जेठमा) नेपाल आउने तय भएको हाे । अमेरिकी सेनाको विशेष विमानमा आउन लागेका चार्ल्स ३० जेठमा फर्किनेछन् । यो वर्ष नेपाल आउने उनी उच्च अमेरिकी सैनिक अधिकारी हुन् ।
नेपाली सेनाका प्रवक्ता सहायकरथी नारायण सिलवालले अमेरिकी जनरल चार्ल्सको सदभावना भ्रमण हुन लागेको जानकारी दिए । ‘कुनै विशेष एजेन्डा होइन, सदभावना भ्रमणमा अमेरिकी जनरल चार्ल्स आउन लाग्नुभएको छ । हामी विस्तृत कार्यक्रममा गृहकार्य गरिरहेका छौँ,’ सिलवालले नयाँ पत्रिकासँग भने ।चार्ल्स चारतारे अमेरिकी जनरल हुन् ।
जनरल चार्ल्सले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री एवं रक्षामन्त्री शेरबहादुर देउवासहित उच्च नेपाली अधिकारीसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ । चार्ल्सले प्रधानसेनापति शर्मासँग औपचारिक भेटवार्ता गर्नेछन् । पाँचदिने बसाइका क्रममा उनी काठमाडौं बाहिर जाने कार्यक्रमबारे गृहकार्य भइरहेको छ ।
प्रधानसेनापति शर्मा असार पहिलो सातादेखि दुई हप्ता विदेश भ्रमणमा जाँदै छन् । उनी लेवनान र गोलान हाइट्सस्थित संयुक्त राष्ट्रसंघीय शान्ति मिसन तथा अमेरिकाको औपचारिक भ्रमणमा जान लागेका छन् । नेपालमा अमेरिकी अधिकारीहरूको भ्रमण बाक्लिएका वेला प्रधानसेनापति शर्मा अमेरिका जान लागेका हुन् ।
प्रधानसेनापति शर्मा असार ४ देखि १० सम्म शान्ति मिसनको भ्रमणमा र त्यहाँबाट १७ असारसम्म अमेरिकाको औपचारिक भ्रमणमा हुनेछन् । उनी असार ४ मा जाने र १७ असारमा स्वदेश फर्किने कार्यक्रम छ ।