लक्ष्मणलाल कर्णको दाबी–सरकारका जानेबारे प्रधानमन्त्रीसँग कुरै भएको छैन

बुधबार, २५ जेठ, २०७९
डिजिटल संस्करण
लक्ष्मणलाल कर्णको दाबी–सरकारका जानेबारे प्रधानमन्त्रीसँग कुरै भएको छैन

फाइल तस्बिर

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का सांसद लक्ष्मणलाल कर्णले पार्टी सरकारमा जाने सम्बन्धमा प्रधानमन्त्रीसँग कुरा नभएको दाबी गरेका छन् । बुधबार प्रतिनिधिसभा बैठकमा सहभागी भएर बाहिरिने क्रममा सञ्चारकर्मीहरूलाई संक्षिप्त प्रतिक्रिया दिँदै कर्णले लोसपाले सरकारमा जानेबारे प्रधानमन्त्रीसँग कुरा नगरेको दाबी गरेका हुन् । 

उनले प्रधानमन्त्री देउवाले पनि आफूहरूलाई मन्त्री हुन आऊ नभनेको कर्णले बताए । उनले भने, ‘हामीले प्रधानमन्त्रीसँग कुरै नगरेको, प्रधानमन्त्रीले हामीलाई मन्त्री बन्न आऊ भन्दै नभनेको कुरो तपाईंहरू विस्तृत रूपमा प्रचार गरिराख्नुभएको छ ।’

कर्णले जसपा अध्यक्ष उपेन्द्र यादवले बाटो–बाटोबाट लोसपालाई एकीकरणका लागि आह्वान गरेको भन्दै असन्तुष्टि जनाए । यादवले विगतमा आफूहरूलाई पार्टीबाट निकालेको र पार्टी फोड्नका लागि निर्वाचन आयोगमा निवेदन दिएको भन्दै कर्णले अहिले संकटमा परेकाले सहयोग खोजेको जिकिर गरे । 

यादवको संकट निवारण भएपछि लखेट्ने प्रवृत्ति रहेको कर्णको तर्क छ । उनले भने, ‘बाटोमा उहाँ बोलिराख्नुभएको छ । हामीसँग कुनै कुरा गर्नुभएको छैन । उहाँको पार्टी फुट्न लाग्दा एकीकरण गरेर हामीले जोगाएको होइन ? त्यसपछि मसमेत महन्थ ठाकुरलाई उहाँले निकाल्दिएको होइन ? पार्टी फोड्नलाई आधिकारिकताको निवेदन दिएको होइन ? अनि अहिले आएर फेरि बाटो बाटोमा कुरा सुनिराखेको छु एकीकरणको । के को लागि एकीकरण ? किन एकीकरण ? हामीसँग उहाँले कुनै कुरा गर्नुभएको छैन ।’

सुझावित समाचार