ब्रिटिस–गोर्खा भूतपूर्व सैनिक संगठनद्वारा दोस्रो चरणको आन्दोलन घोषणा

बुधबार, २५ जेठ, २०७९
डिजिटल संस्करण

बेलायत सरकारबाट अवकाश पाएका भूतपूर्व गोर्खा सैनिकलाई भएको विभेद अन्त्यको माग सरकारले सम्बोधन नगरेको भन्दै ब्रिटिस–गोर्खा भूतपूर्व सैनिक संगठनले दोस्रो चरणको आन्दोलन घोषणा गरेको छ । बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै भूतपूर्व गोर्खा सैनिक संगठनले आफ्ना माग सरकारले पूरा नगरेको भन्दै असार ३ गतेदेखि दोस्रो चरणको आन्दोलन गर्ने घोषणा गरेको हो । 

पत्रकार सम्मेलनमा बोल्दै ब्रिटिस–गोर्खा भूतपूर्व सैनिक संगठन सिंगापुर गोर्खाज विभागका प्रमुख पलबहादुर घर्तीले असार ३ गते काठमाडौंको रत्नपार्कस्थित शान्तिबाटिकामा शान्तिपूर्ण आन्दोलन गर्ने बताए । उनले भूतपूर्व सैनिकहरूको माग सरकारले सम्बोधन गर्ने गरी विरोध प्रदर्शन गर्नुका साथै बेलायती राजदूतावासअगाडि एक घन्टा धर्ना दिने कार्यक्रम तय भएको जानकारी दिए ।  

राजदूतावासमार्फत बेलायती प्रधानमन्त्रीलाई ब्रिटिस–गोर्खा भूतपूर्व सैनिकका १६ बुँदे मागसहित ध्यानाकर्षणपत्र पुनः बुझाउने प्रमुख घर्तीले बताए । उनले बेलायत सरकारलाई नेपाल सरकारले १६ बुँदे मागपत्र पूरा गर्न पहल नगरी बेवास्ता गरे भूतपूर्व गोर्खा सैनिक मानव अधिकार तथा जातीय विभेदसम्बन्धी अन्तर्राष्ट्रिय संस्थाहरूको सहभागितामा देशव्यापी आन्दोलन गर्ने चेतावनीसमेत दिए । 

प्रमुख घर्तीले सिंगापुर प्रहरी सेवाबाट अवकाश प्राप्त गोर्खाहरूमाथि बेलायत र सिंगापुर सरकारबाट ठूलो अन्याय र चर्को विभेद भइरहेकाले त्यसको अन्त्यका लागि पहलको माग गर्दै आए पनि सरकारले सुनुवाइ नगरेको गुनासो गरे । उनले सरकारले कुनै सन्धि, सम्झौताविना अहिलेसम्म पनि बेलायतले नेपालीलाई सिंगापुरका लागि भर्ती गरी पठाइरहेको भन्दै बेलायत, नेपाल र सिंगापुरमध्ये यसमा को जिम्मेवार छ भन्ने अन्याेल रहेको पनि बताए । 

नेपाल सरकारले मुख्यतया सिंगापुर प्रहरीबाट अवकाश प्राप्त भूपू सैनिकलाई सिंगापुरका सैनिकसरह तलब, भत्ता, पेन्सन र अन्य सेवा–सुविधाहरू समान गराउन पहल गर्नुपर्ने उनीहरूको माग छ ।  एउटै संस्थामा एकै प्रकारका काम गर्ने दुई देशका नागरिकको सेवा सुविधाबीच अन्तर हुनु दुःखद रहेको उनीहरूको भनाइ छ ।  

सिंगापुर प्रहरीमा सेवारत हुँदासमेत गोर्खा प्रहरीका श्रीमती र उमेर पुगेका छोराछोरीहरूले योग्यताअनुसार सिंगापुरमा  काम गर्न पाउने व्यवस्था गर्न सरकारले पहल गर्नुपर्ने पनि प्रमुख घर्तीले बताए । उनले सिंगापुर र बेलायत सरकारले सिंगापुर गोर्खामाथि जातीय विभेद गरेको बताउँदै त्यस्तो व्यवहार मानव अधिकारको दृष्टिकोण अनुचित रहेकोसमेत बताए । 

सुझावित समाचार