अमेरिकामा रहेका नेपालीलाई एनआरएन परिचयपत्र लिन महावाणिज्य दूतावासको आग्रह

बुधबार, २५ जेठ, २०७९
डिजिटल संस्करण

अमेरिकाको न्युयोर्कमा रहेको नेपाली महावाणिज्य दूतावासले यहाँ रहेका नेपाली मूलका नागरिकलाई नेपाल सरकारले प्रदान गर्ने गैरआवासीय नेपाली परिचयपत्र लिन आग्रह गरेको छ । 

नेपाल–अमेरिका पत्रकार संघ (नेजा) ले आइतबार न्युयोर्कको ज्याक्सन हाइट्समा आयोजना गरेको बृहत् सामुदायिक अन्तर्क्रिया कार्यक्रममा कार्यबाहक महावाणिज्यदूत विष्णुप्रसाद गौतमले यस्तो आग्रह गरेका हुन् । सहभागीहरूले उठाएको प्रश्नको जवाफ दिँदै महावाणिज्यदूत गौतमले अमेरिकी राहदानी लिइसकेका नेपाली मूलका हरेक नागरिकलाई नेपाल सरकारले उपलब्ध गराउने एनआरएन परिचयपत्र लिन सुझाव दिए ।

१० वर्षको समयावधि हुने उक्त एनआरएन परिचयपत्रले धेरै फाइदा हुने उनले बताए ।  नेपालमा सम्पत्ति लिन, संरक्षण गर्न वा त्यस्तै खालको हरेक कारोबार गर्न एनआरएन परिचयपत्र अनिवार्य भएको बताउँदै उनले यस विषयमा अमेरिकामा रहेका नेपाली मूलका नागरिकहरू सुसूचित हुन जरुरी रहेकाे जानकारी दिए । उनले एनआरएनएले जारी गर्ने परिचयपत्र र नेपाल सरकारले जारी गर्ने परिचयपत्र नितान्त फरक भएको भन्दै त्यसका विषयमा सामाजिक अगुवाहरूले सबैलाई प्रस्ट पार्न आग्रहसमेत गरे ।

कार्यक्रममा बाेल्दै महावाणिज्यदूत गौतमले अमेरिकामा नेपाली उत्पादन प्रवर्द्धन गर्नु हामी सबैको कर्तव्य भएको भन्दै यहाँ रहेका नेपाली एवं नेपाली मूलका नागरिकलाई नेपाली वस्तुको उपभोग गर्न आग्रह गरे ।

न्युयोर्कमा रहेका अधिकांश संघसंस्थाका प्रतिनिधिको सहभागिता रहेको उक्त कार्यक्रममा महावाणिज्यदूत गौतमले दूतावासले दिने सेवाबारे जानकारी गराएका थिए । उनले दूतावासले ई-पासपोर्ट, एनआरएन कार्ड, मञ्जुरीनामा (पावर अफ अटोर्नी), भिजा सुविधा, जन्म, विवाह र मृत्यु दर्ता सिफारिसजस्ता सेवा उपलब्ध गराइरहेको बताए ।

त्यस्तै, उनले महावाणिज्य दूतावासले नगद वा ई-भुक्तानी लिन नसक्नुको कारणबारे पनि प्रस्ट पारेका थिए । महावाणिज्यदूत गौतमको जानकारीपछि सहभागीले दूतावासले प्रदान गर्ने सेवाका विषयमा जिज्ञासा राखेका थिए । उनीहरूले एनआरएन कार्ड, राहदानी तथा विविध सिफारिसका विषयमा केन्द्रित रहेर प्रश्न गरेका थिए ।

कार्यक्रममा उठेका प्रश्नको जवाफ दिँदै गौतमले ई-पासपोर्ट अनिवार्य नगरिएको र यदि एमआरपी पासपोर्टको म्याद एक वर्ष बाँकी छ भने तत्काल नवीकरण गर्न सुझाव दिए । उनले नेपालबाट राहदानी नवीकरण गर्दा राष्ट्रिय परिचयपत्र अनिवार्य भए पनि अमेरिकाबाट नवीकरण गर्दा ऐच्छिक बनाइएको जानकारी दिए । उनले तत्कालका लागि दूतावासले दुई वर्षको अस्थायी राहदानी जारी गर्ने सम्बन्धमा पनि स्पष्ट पारेका थिए । 

कार्यक्रममा वाणिज्यदूत गणेशप्रसाद अधिकारीले सहभागीहरूको प्रश्नको जवाफ दिँदै महावाणिज्य दूतावास छिटो र छरितो ढंगबाट सेवा दिन सधैँ तत्पर रहेको बताए । उनले महावाणिज्य दूतावास सधैँ नेपाली समुदायसँग हातेमालो गरेर अघि बढ्न तयार रहेको भन्दै कुनै पनि गुनासोलाई सम्बोधन गर्न कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गरे।

दूतावासको कार्यक्षेत्र न्युयोर्क, कनेक्टिकट र न्युजर्सी भए पनि विवेकको आधारमा अन्य क्षेत्रमा बस्ने नेपाली एवं नेपाली मूलका नागरिकलाई सेवा दिइरहेको भन्दै अधिकारीले समस्यामा रहेका नेपालीको सेवामा महावाणिज्य दूतावास सधैँ तत्पर रहेको बताए । 

नेजाकी उपाध्यक्ष मच्छेदेवी गुरुङको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेजा कार्यसमिति सदस्य लोकमणि राईले स्वागत गरेका थिए । त्यस्तै, अर्का सदस्य अनिल अधिकारीले सहभागीले उठाएका प्रश्नको समन्वय गरेका थिए । सचिव कल्पना घिमिरेले धन्यवाद ज्ञापन गरेकी थिइन् । अन्तर्क्रिया कार्यक्रम नेजाका क्षेत्रीय संयोजक गोकुल श्रेष्ठको समन्वय एवं सञ्चालनमा भएको थियो ।

सुझावित समाचार