वीरगन्ज चिनी कारखाना पुनः सुचारु हुने खबरले स्थानीय उत्साहित

मंगलबार, २४ जेठ, २०७९
डिजिटल संस्करण

दुई दशकदेखि बन्द रहेको वीरगन्ज चिनी कारखाना पुनः सुचारु हुने खबरले स्थानीय उत्साहित भएका छन् ।संसदमा आर्थिक वर्ष ०७९/८० का लागि बजेट प्रस्तुत गर्ने क्रममा अर्थमन्त्री जनार्दन शर्माले बन्द भएको वीरगन्ज चिनी कारखाना र कृषि औजार कारखाना सरकारले पुनः सञ्चालनमा ल्याउने घोषणा गरेपछि यसले चर्चा पाउन थालेको हो । वीरगन्ज चिनी कारखाना नेपाल सरकार र सोभियत संघको सहयोगमा ०२१ सालमा स्थापना भएको थियो ।

दैनिक एक हजार पाँच सय टन उखु पेल्ने क्षमता यो कारखानासँग छ । यो उद्योग सञ्चालनमा ल्याउन केही मेसिन मर्मत गर्नुपर्नेछ भने केही थप्नुपर्ने अवस्था छ । वीरगन्ज चिनी कारखाना ०५९ सालबाट बन्द छ । वीरगन्ज चिनी कारखानाका अधिकांश कर्मचारीले स्वेच्छिक अवकाश लिइसके पनि झन्डै दुई दर्जन कर्मचारी अहिले पनि करारमा कार्यरत छन् ।

ऋणले थिचिएको र घाटामा गएको देखाएर ०५९ सालमा सरकारले निजीकरण ऐन, २०५० अनुसार खारेजीको निर्णय गरेको थियो । खारेज हुनुभन्दा करिब १० वर्ष अगाडिसम्म चिनी कारखानाको आम्दानी उच्च थियो । प्रत्येक उपकेन्द्रहरूमा पक्की घर रहेको कारखानाले आफैंँ विद्युत् उत्पादन गर्दथ्यो । ०४६ सालपछि निरन्तर घाटामा गएपछि उद्योग समस्यामा परेको थियो । कर्मचारीको तलब दिन पनि अफ्ठ्यारो  भएपछि सरकारले खारेजीको निर्णय गरेको पूर्वकर्मचारी बैजनाथ राउत कुर्मीले बताए । उनले पहिला चिनी कारखानाले राम्रो व्यापार गरेको, तर बहुदल आएपछि ६–६ महिनामा सरकार र उद्योगका अधिकारी फेरिने भएपछि उद्योग एकनासले चल्न नसकेको बताए । 

मध्यतराईको बारा, पर्सा तथा रौतहटमा उखुको राम्रो उब्जनी हुने जमिन छ । यसको उत्पादनमा हजारौँको संख्यामा कृषकले श्रम लगाए पनि प्रतिफल राम्रो हुन सकेको छैन । नगदे बालीको रूपमा रहेको उखु उधारोमा कारोबार हुँदासमेत किसानलाई निकै समस्या हुने गरेको छ । कारखानाभित्र दुईवटा टर्वाइन छन्, जसबाट सात मेगावाट बिजुली उत्पादन गर्न सकिन्छ । कारखाना चालू भए कारखानालाई आवश्यक पर्ने बिजुली त्यहीँ उत्पादन गर्न सकिन्छ भने बाँकी केही बिजुली बेच्नसमेत सकिन्छ । कारखाना सञ्चालनताका करिब दुई हजार एक सय कर्मचारी कार्यरत रहेका उक्त चिनी कारखाना आज खण्डरमा परिणत भएको छ ।

चिनी उत्पादनमा प्रयोग गरिएको महँगा र महत्वपूर्ण मेसिनमा खिया लागेको छ । कारखाना बन्दको मार केवल कर्मचारीलाई मात्र नभई मुलुकको अर्थतन्त्रमा समेत पारेको प्रस्ट देखिन्छ । तर, कारखाना सञ्चालन हुनेमा यहाँका उद्योगपति व्यापारी भने विश्वस्त छैनन् । सरकारले कारखाना सञ्चालनमा ल्याउनु सराहनीय कार्य भएको, तर सञ्चालनमा आउँछ भन्ने आस अझै नरहेको वीरगन्ज उद्योग वाणिज्य संघका उपाध्यक्ष माधव राजपाल बताउँछन् । उनले यो कारखाना सञ्चालनमा आए हाम्रा लागि आवश्यक भएको पनि बताए ।  उद्योग सञ्चालनमा ल्याउन केही अफ्ठ्यारो भए पनि सञ्चालन भएमा किसान र युवाहरले रोजगारी पाउने बताए । उनले सरकारले आगामी आर्थिक वर्षको बजेटमा चिनी उद्योग सञ्चालनमा ल्याउने भनेसँगै स्थानीयहरू  उत्साहित भएको बताए ।   

करिब दुई हजार एक सय कर्मचारी कार्यरत रहेका उक्त चिनी कारखाना आज खण्डरमा परिणत भएको छ । चिनी उत्पादनमा प्रयोग गरिएको महँगा र महत्वपूर्ण मेसिनमा खिया लागेको र कारखाना बन्दको मार केवल कर्मचारीलाई मात्र नभई मुलुकको अर्थतन्त्रमा समेत पारेको पूर्वकर्मचारी अवधिकिशोर सिंहले बताए। सरकारले दृढ संकल्पका साथ वीरगन्ज चिनी कारखाना सञ्चालनमा ल्याउन चाहे सम्भव उद्योगीहरू बताउँछन् । कारखानामा रहेको मेसिनहरू सुरक्षित हुँदा मर्मतसम्भार गरी सञ्चालनमा ल्याउन सकिने, तर अन्डरग्राउन्डका तारहरू भने फेर्नुपर्ने उनीहरूको भनाइ छ ।

सुझावित समाचार