गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा अन्तर्घात गरेर आधिकारिक उम्मेदवार हराउन भूमिका खेलेको भन्दै नेपाली कांग्रेस प्रदेश १ का महामन्त्री भूपेन्द्रकुमार राईसहित चारजना नेताविरुद्ध अनुशासन समितिमा उजुरी परेको छ ।
निर्वाचनमा महामन्त्री राईको गृहपालिका दिप्रुङ चुइचुम्मा गाउँपालिकामा पार्टीका आधिकारिक उम्मेदवारलाई हराउन अन्तर्घात गरेको भन्दै महामन्त्री राई, कांग्रेसका दिप्रुङ चुइचुम्मा गाउँपालिका सभापति अमृत गिरी, कांग्रेस प्रदेश (ख)का सदस्य पूर्णबहादुर खड्का र दिप्रुङ चुइचुम्मा गाउँपालिका– १ याम्खाका पार्टी सभापति रामचन्द्र राईविरुद्ध कांग्रेस खोटाङको अनुशासन समितिमा उजुरी परेको हो ।
चार नेताविरुद्ध कांग्रेसको तर्फबाट गाउँपालिका प्रमुखका उम्मेदवार बनेका नइन्द्र राई, उपप्रमुखका उम्मेदवार रमा कटवालसहित सातवटै वडाका वडाध्यक्षका उम्मेदवारले कारबाहीका लागि अनुशासन समितिमा उजुरी दिएका छन् । पराजित उम्मेदवारहरूले नेपाली कांग्रेसको विधान २०१७, (संशोधनसहित) धारा ३४ उपधारा ४ को क, ख र ग आकर्षित हुने गरी कारबाही गर्न माग गरेका छन् ।
अनुशासन समितिका जिल्ला संयोजक एवं सचिव ज्ञानेन्द्र जोशीले स्थानीय तहको निर्वाचनमा आधिकारिक उम्मेदवारविरुद्ध बागी उम्मेदवार उठे–नउठेको तथा आधिकारिक उम्मेदवारविरुद्ध अन्तर्घात हुने कामकारबाही भए–नभएको प्रतिवेदन पेस गर्न यही जेठ १३ गते पठाएको पत्रअनुसार अन्तर्घात गर्ने र विपक्षी दलका उम्मेदवारलाई जिताउन भूमिका खेलेका कारण चार नेताविरुद्ध उजुरी दिइएको गाउँपालिका प्रमुखका उम्मेदवार राईले बताए । ०७४ को स्थानीय तहको निर्वाचनमा स्वयं महामन्त्री राई गाउँपालिका प्रमुख तथा कांग्रेसकै सपना राई उपप्रमुखमा विजयी भएको उक्त गाउँपालिकामा यसपटकको निर्वाचनमा एमालेका लोकेन्द्र राई प्रमुख र एमालेकै अरुणा थापामगर उपप्रमुखमा विजय भएपछि महामन्त्री राईमाथि अन्तर्घातको आक्षेप लागेको हो ।
महामन्त्री राईमाथि आधिकारिक उम्मेदवारविरुद्ध बागी उम्मेदवार दिन कार्यकर्ता उक्साएको, विपक्षी दल एमालेका नेता र उम्मेदवारसँग गोप्य बैठक बसेर पार्टीको आन्तरिक रणनीति तथा गोपनीयता भंग गरी आर्थिक लेनदेन र चलखेल गर्दै मतदाता तथा कार्यकर्ता भड्काएको, गुट खडा गरी अन्तर्घात गराउँदै आधिकारिक उम्मेदवारलाई लज्जास्पद पराजय गराएको, पदको दुरुपयोग गरी हरेक वडामा अधिवेशनको नकारात्मक विषयवस्तुबारे दुष्प्रचार गरी कार्यकर्ता वा मतदातालाई भड्काउँदै अन्तर्घात गराएको, पार्टीको चुनावी सभामा सहभागी हुन उदासीनता देखाएको, संलग्न चुनावी सभामा विवादास्पद अभिव्यक्ति दिएकोलगायतका क्रियाकलाप गरेको आरोप लगाइएको छ ।
यस्तै, सभापति गिरीमाथि आधिकारिक उम्मेदवारविरुद्ध दुष्प्रचार गरेको, पदीय जिम्मेवारीलाई निष्क्रिय गरेको, विपक्षी पार्टीका नेता र उम्मेदवारसँग बैठक बसी गोपनीयता तथा रणनीति ‘एक्सपोज’ गराएको, विपक्षी पार्टीका उम्मेदवारलाई लाभ हुने गरी विवादास्पद अभिव्यक्ति दिएको, आधिकारिक उम्मेदवारविरुद्ध वितृष्ण फैलाएको, पार्टी नेतृत्वको आलोचना गरेकोलगायतका आरोप लागेको छ । महामन्त्री राईको गृहपालिकामा आफ्ना पार्टीका प्रमुख र उप्रमुखसहित चारजना वडाध्यक्षका उम्मेदवार पराजित भएपछि महामन्त्री राईमाथि नैतिक प्रश्न खडा भएको छ ।
दिप्रुङ चुइचुम्मा गाउँपालिकामा कांग्रेस, माओवादी केन्द्र र एमाले गठबन्धन नगरी छुट्टाछुट्टै उम्मेदवारी दर्ता गरेर चुनाव लडेका थिए । सातवटा वडा रहेको दिप्रुङ चुइचुम्मा गाउँपालिकामा यस वर्षको निर्वाचनमा चार वडामा एमाले र तीन वडामा कांग्रेस विजयी भएको छ ।
अघिल्लो निर्वाचनमा उक्त गाउँपालिकाको प्रमुख, उपप्रमुखसहित बहुमत वडाध्यक्ष कांग्रेसले जित्नुका साथै एकल बहुमतमा कार्यपालिका गठन गरेको थियो । यस वर्षको निर्वाचनमा एमालेले गाउँपालिका प्रमुख, उपप्रमुख तथा चार वडाध्यक्ष जितेसँगै एकल बहुमतमा कार्यपालिकासमेत गठन गरिसकेको छ ।