प्रधानमन्त्री देउवाले नचाहेपछि रोकियो मन्त्री हेरफेर

मंगलबार, २४ जेठ, २०७९
डिजिटल संस्करण

प्रधानमन्त्री शेरबहादुर देउवाले अनिच्छा देखाएपछि मन्त्रिपरिषद् हेरफेर रोकिएको छ । एकीकृत समाजवादीका तर्फबाट मन्त्रिपरिषद्मा रहेका चार मन्त्री र एक राज्यमन्त्रीलाई फिर्ता बोलाएर नयाँलाई समावेश गर्ने तयारी देउवाको आग्रहपछि रोकिएको हो ।

सोमबार गठबन्धनका शीर्ष नेताहरूसँग छलफल गरी देउवाले बजेट पारित नभएसम्म मन्त्री हेरफेर नगर्न सहमत गराएका थिए । बैठकमा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीको कारण देखाउँदै मन्त्रीहरू हेरफेर गरिदिन आग्रह गरेका थिए । जवाफमा प्रधानमन्त्रीले तत्काल हेरफेरको निर्णय व्यावहारिक नहुने बताउँदै पार्टीको समस्या मिलाउन र निर्णय पुनर्विचार गर्न नेपालसँग आग्रह गरेका थिए ।

‘संसद्मा बजेटको विषयमा छलफल भइरहेको छ । तालुक मन्त्रालयको विषयमा उठेका प्रश्न सम्बन्धित मन्त्रीले दिनुपर्ने हुन्छ । यस्तो अवस्थामा मन्त्रिपरिषद् हेरफेर व्यावहारिक हुने देखिँदैन,’ प्रधानमन्त्री देउवाको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘मन्त्रीहरूलाई फिर्ता गरेर नयाँलाई समावेश गर्ने विषयमा पुनर्विचार गर्नुपर्ने अवस्था छ ।’ देउवाले लोसपासँग सरकारमा सहभागी हुने र आगामी निर्वाचनमा तालमेल गर्ने विषयसमेत जानकारी गराएका थिए । त्यसपछि नेताहरू बजेट पारित भएपछि यसबारे छलफल गर्न तयार भएका थिए । बैठकमा प्रधानमन्त्री देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष नेपाल र जसपा अध्यक्ष उपेन्द्र यादव सहभागी थिए । 

प्रधानमन्त्री देउवा तत्काल मन्त्रीहरू हेरफेर गरेर कांग्रेसमा असन्तुष्टि बढाउने पक्षमा थिएनन् । उनलाई पाँच महिनादेखि रिक्त रहेको रक्षामन्त्री र अन्यमा हेरफेरको पार्टीबाटै दबाब थियो । कांग्रेसका महामन्त्री गगन थापाले सोमबार संसद् बैठकपछि प्रतिक्रिया दिँदै उनले पार्टीभित्र पनि नयाँ अनुहारलाई मन्त्री बनाउन माग आएको संकेत गरे ।

कांग्रेसभित्र पनि नयाँलाई बनाउनुपर्ने व्यापक माग छ : गगन थापा, महामन्त्री, कांग्रेस

कांग्रेसको कुनै पनि बैठकमा यो विषयबारे छलफल भएको छैन । यद्यपि, पार्टीका केही सांसद, जसले मन्त्री बनेर काम गर्ने अनुभव गर्न पाउनुभएको छैन, निर्वाचित भएर आउनुभएका केही साथीहरूले कांग्रेसको सरकार हुँदै गर्दा केही नयाँ साथीहरूले मौका पाएको भए सिक्ने मौका हुन्थ्यो, भविष्यका निम्ति आफूलाई नयाँ जिम्मेवारीलाई तयार गर्न सकिन्थ्यो भन्ने कुरा गर्नुभएको छ । कांग्रेसमा एकल सरकार बने पनि एउटै अनुहारले मन्त्री हुने, गठबन्धन सरकारमा पनि तिनै मन्त्री हुने यस्तो हुने गरेको छ । सभापति आफैँ संसदीय दलका नेता हुनुभएकोले गर्दा उहाँले यसलाई कसरी सोच्नुभएको छ, त्यसमा धेरै कुरा निर्भर रहने भयो । तर, केही फेरबदल हुनुपर्छ ।

बजेटमा छलफल चलिरहेकाले अहिले उपयुक्त समय होइन  : प्रेमबहादुर आले, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री 
पार्टीले मन्त्रीहरू हेरफेरको निर्णय गर्नु कुनै ठूलो होइन । तर, अहिले संसद्मा बजेटका विषयमा मन्त्रालयगत छलफल चलिरहेका कारण उपयुक्त समय थिएन । किनभने, मन्त्रीका हिसाबले छलफलप्रति त हामी नै जवाफदेही हुनुपर्ने अवस्था थियो । त्यसैले अहिले नै नगरौँ भन्ने भएको हो । बजेट पास भएपछि पनि के हुन्छ (हेरफेर हुन्छ कि हुँदैन) अहिल्यै भन्न सकिँदैन ।

दुई–तीन दिन रोकिएको हो, मन्त्री हेरफेर हुन्छन् : मेटमणि चौधरी, नेता, एकीकृत समाजवादी 
सोमबार बिहानैबाट मन्त्रिपरिषद् हेरफेर रोकिने सिनारियो बाहिर आउन थालेकाले हामी शपथको तयारीमा थिएनौँ । खासमा अध्यक्षज्यूले हामीलाई दुई–तीन दिनका लागि मात्र रोकिएको ब्रिफिङ गर्नुभएको छ । सोमबारै मन्त्रिपरिषद् हेरफेर गर्दा अरू पार्टीमा पनि समस्या आउने देखिएपछि  प्रधानमन्त्रीले मिलाउन समय दिनुभएको हो । आन्तरिक व्यवस्थापनपछि पुनर्गठन गर्ने समझदारी भएको जानकारी आएको छ । 

मन्त्री फेर्न अरू तागतले रोक्न सक्दैन : झलनाथ खनाल, नेता, एकीकृत समाजवादी
कुन व्यक्तिलाई मन्त्री बनाउने या नबनाउने, त्यो सम्बन्धित पार्टीको सार्वभौम कुरा हो । अरूले गर्ने होइन । हाम्रो पार्टीका तर्फबाट कसलाई मन्त्री बनाउने या नबनाउने भन्ने कुराको निर्णय एकीकृत समाजवादीले गर्छ, यो धर्तीका अरू कुनै तागतले गर्ने कुरा होइन । हामीले पहिले नै सहमति त्यस्तै गरेका थियौँ । ६ महिनासम्म एउटा टिमलाई दिने । त्यसपछाडि अर्को टिम पठाउने भन्ने सुरुकै हाम्रो सहमति हो । त्यहीअनुसार हामीले गरेको हो । 

नेताका प्रियलाई मन्त्री बनाउने कुरा दु:खद : राम कार्की, नेता, माओवादी
सबैलाई पालो दिँदै राम्रो हुन्छ । त्यो त अब संसदीय दलको नेतालाई थाहा होला । मन्त्री बनाउँदा नेताहरूले प्यारो मान्छेलाई बनाउने चलन सुरु भएको छ । प्यारो हुन जो पनि चाहन्छ । कुनै एउटा विषयप्रतिको ज्ञाता मान्छे खोज्ने, अथवा आफ्नै पार्टीभित्र पनि त्यस्ता मान्छेहरूको छनोट गर्ने परिपाटी रहेन । स्वाभाविक रूपमा त्यो बेथिति मन्त्रिपरिषद्मा पनि देखा पर्छ । मन्त्री हुनका निम्ति खास योग्यताको जरुरी नपरेपछि सांसदले मन्त्री बन्न पाइहाल्छ । परफर्मेन्स गर्न सक्ने क्यापेबल मान्छेभन्दा पनि नेताहरूको प्रियलाई बनाउने चलन भनेको अप्रजातान्त्रिक र दु:खद हो ।

जसपामा नयाँ मन्त्री पठाउन व्यापक दबाब छ : प्रदीप यादव, नेता, जसपा
संसदीय दलमा अध्यक्ष उपेन्द्र यादवले ६ महिनापछि मन्त्रीहरू फिर्ता बोलाउने र नयाँ मन्त्रीलाई पठाउने प्रस्ताव गरेका थिए । यसमा हाम्रो सहमति नै भएको थियो । कार्यकारिणी बैठकमा पनि सहमति भएको थियो । यसकारण जसपा पार्टीबाट पनि गएका मन्त्रीहरूलाई फिर्ता बोलाउने, नयाँ मन्त्रीहरूको नाम पठाउने कुरामा व्यापक दबाब छ । यो कुरामा पार्टीले सोच्नुपर्छ । चेन्ज हुनु पनि पर्छ ।

See More On

सुझावित समाचार