साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार परिसूचक नेप्से दोहोरो अंकले घटेको छ । नेप्से परिसूचक १२ दशमलव ८९ अंकले घटेर दुई हजार ६५ दशमलव ८२ बिन्दुमा आइपुगेको छ । त्यस्तै, ‘क’ वर्गका कम्पनीहरूको कारोबारमापक सेन्सेटिभ इन्डेक्स तीन दशमलव १२ अंकले घटेर चार सय दशमलव ३६ बिन्दुमा आइपुगेको छ ।
बजारमा निरन्तर गिरावट आउँदा लगानीकर्ता आत्तिएका छन् । उनीहरू ‘पर्ख र हेर्न’भन्दा पनि घाटा कम गर्ने उपायमा लागेकाले बजार धेरै ओरालो लाग्दा पनि बिक्री गर्नेको संख्या नघटेको लगानीकर्ताको बुझाइ छ । केही दिनअघिसम्म होल्ड गर्ने मानसिकता बोकेका लगानीकर्ता पनि आउने, मौद्रिक नीतिले थप अप्ठ्यारो पार्ने हो कि भन्ने डरले गर्दा ठूलै घाटामा भए पनि सेयर बिक्री गर्नुपरेको लगानीकर्ता बताउँछन् ।
दोहोरो अंकले घटेको बजारमा ८७ कम्पनीको सेयर मूल्य बढेको छ भने ९७ वटा कम्पनीको सेयर मूल्य घटेको छ । १२ वटा कम्पनीको सेयर मूल्यमा भने कुनै परिवर्तन आएन । धितोपत्र र ऋणपत्र गरी कारोबारमा आएका दुई सय २८ कम्पनीको ४४ लाख नौ हजार कित्ता सेयर खरिद–बिक्री हुँदा एक अर्ब २७ करोड रुपैयाँको कारोबार भएको छ । सबैभन्दा बढी कारोबार हुने कम्पनीहरूमा एसियन लाइफ इन्स्योरेन्स, एनआइसी एसिया बैंक, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी, अरुण भ्याली हाइड्रोपावर, हिमालयन डिस्टिलरी रहेका छन् । यी कम्पनीको सेयर तीन करोड ७८ लाख रुपैयाँदेखि आठ करोड २४ लाख रुपैयाँसम्मको कारोबार भएको छ ।
कारोबारमा आएका १३ वटा समूहका सूचकमध्ये पाँचवटा समूहको सेयर मूल्य बढेको छ । डेभलपमेन्ट बैंक, फाइनान्स, म्यानुफ्याक्चर एन्ड प्रोडक्सन, माइक्रो फाइनान्स, म्युचुअल फन्ड र ‘अन्य’ समूहको सेयर बढेको हो । यी सबैको सेयर १ प्रतिशतभन्दा कमले बढेको छ । त्यस्तै, सातवटा समूहको सेयर मूल्य घटेको छ । जसमा जीवन बिमा समूहको सबैभन्दा बढी अर्थात् दुई दशमलव शून्य १ प्रतिशतले र बैंकिङ समूहको एक दशमलव ३२ प्रतिशतले घटेको छ । ट्रेडिङ, होटेल एन्ड टुरिजम, हाइड्रोपावर, ननलाइफ इन्स्योरेन्स र इन्भेस्टमेन्ट समूहको १ प्रतिशतभन्दा कमले घटेको छ ।
घटेको बजारमा दुईवटा कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । हिमालयन बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकको प्रोमोटर सेयर मूल्यमा नकारात्मक सर्किट लागेको हो । त्यस्तै, माहुली लघुवित्तको सेयर मूल्य सात दशमलव ६६ प्रतिशतले घटेको छ । त्यस्तै, नेपाल लाइफ इन्स्योरेन्स, मनकामना स्मार्ट लघुवित्त, गुराँस लघुवित्तको सेयर मूल्य करिब ४ प्रतिशतले घटेको छ ।
घटेको बजारमा पनि एक कम्पनीको सेयरमा भने सकारात्मक सर्किट लागेको छ । उपकार लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो । त्यस्तै, बलेफी हाइड्रोपावरको सेयर मूल्य नौ दशमलव ९६ प्रतिशतले बढेको छ । नारायणी डेभलपमेन्ट बैंकको ६ दशमलव ४७ प्रतिशत र मिथिला लघुवित्तको सेयर मूल्य चार दशमलव ३७ प्रतिशतले बढेको छ ।