‘सभ्यतावाद’को घातक बौद्धिक उन्माद

लोकरिझ्याइँवादी नेता खुला रूपमा आफ्नो देशका सिमानालाई अन्तर्राष्ट्रिय कानुनभन्दा पनि सभ्यता र अन्ततः नश्लीय विचारका आधारमा परिभाषित गर्ने प्रयास गर्छन्

सोमबार, २३ जेठ, २०७९
डिजिटल संस्करण

भ्यतावाद एउटा विश्वव्यापी बौद्धिक उन्माद हो, जुन विश्वका प्रमुख शक्तिकेन्द्रमा फैलिएको छ । सभ्यता बृहत् सांस्कृतिक संस्था हो, जहाँ मानव जाति बारम्बार विभाजित हुन्छ, त्यस अर्थमा सभ्यतावादले राष्ट्रवादलाई उछिनेको देखिन्छ । यद्यपि, आजको सभ्यतावादी बहस मुख्यतः राष्ट्रलाई पुनर्भाषित गर्ने अभ्यास हो, जहाँ कल्पना गरिएका ‘हामी’विरुद्ध कल्पना गरिएका ‘तिनी’लाई फराकिलो वा संकुचित गर्ने प्रयास गरिन्छ ।

सभ्यता–राज्य अहिले राष्ट्र–राज्यको प्रतिपक्षजस्तो देखिन्छ । भारत, चीन, रुस, टर्की र इरान ती देश हुन्, जहाँ राज्यका अधिकारी वा सत्तानिकट शक्तिशाली व्यक्तिले आफ्नो देश राष्ट्र–राज्य नभई सभ्यता हो भन्ने दाबी गर्छन् । रुसका सन्दर्भमा राष्ट्रपति भ्लादिमिर पुटिनले ‘रुस एक देश मात्र नभई एक छुट्टै सभ्यता हो’ भनेका थिए । यो विषय रुसी विश्व रुसको भौगोलिक सिमानामा मात्र सीमित छैन भन्ने सभ्यतावादी विश्वास र युक्रेन वास्तविक राज्य होइन भन्नेसँग जोडिन्छ । युक्रेनमा रुसको आक्रमणपछि यो वैचारिकी मुख्य कारक थियो । रुस–युक्रेन द्वन्द्वमा मध्यमार्ग खोज्ने देशले पनि सभ्यता–राज्य बन्ने महत्वाकांक्षा पालेको हुन सक्छ । के स्वदेशमा सभ्यतावादसँगको झुकावले विदेशमा रहेका सभ्यतावादीप्रति सहानुभूति पैदा गर्छ ?

यी महत्वाकांक्षी सभ्यता राज्यका विशेषता के हुन् ? यी तुलनात्मक रूपमा ठूला देश हुन्, जसलाई प्रायः मध्यम शक्ति, क्षेत्रीय शक्ति वा सम्भावित महाशक्ति पनि भनिन्छ । पूर्वऔपनिवेशिक युगमा यी देशका क्षेत्र पुरातन सभ्यता, ठूला साम्राज्य र राज्यका घर थिए । यी इतिहासका दस्तावेजीकृत अभिलेख विशेषतः शास्त्रीय ग्रन्थ पश्चिमा आक्रमणबाट जोगिएका थिए । उदाहरण अमेरिकामा रहेको एज्टेक, मायन र इन्का सभ्यतालाई युरोपेली विजयपछि यी सभ्यताका अधिकांश लिपि एवं पाण्डुलिपि नष्ट गरिएका थिए । यद्यपि पूर्वऔपनिवेशिक सामाजिक व्यवहारको निरन्तरता अमेरिकामा देख्न भने सकिन्छ ।

सभ्यता पहिचानको दाबीकर्ता ठूला देश भए पनि साना समूहले पनि दाबी गर्दै आएका छन् । ‘नागा भारतीय होइनन् र हामीले भारतसँग कहिल्यै कुनै सम्बन्ध राखेका छैनौँ’ नागा प्रमुख अंगामी जापु फिजो दाबी गर्छन् । ‘हाम्रो आफ्नै संस्कृति र सभ्यता छ, जुन हाम्रा पुर्खाले शताब्दिऔँअघि निर्माण गरेका थिए... यो सभ्यताले समयको परीक्षा सहिरहेको छ,’ फिजो थप्छन् ।

पोर्चुगलका राजनीतिज्ञ र लेखक ब्रुनो म्याकेस ‘युरोपेली संघ एक सभ्यता–राज्यका रूपमा पुनर्निर्मित हुने प्रक्रियामा छ, एक राजनीतिक संस्था जो एक निश्चित मूल्य प्रणालीमा बाँच्ने सबैलाई एक ठाउँमा ल्याउँछ र युरोपेली सभ्यताका शत्रुका आक्रमणबाट जोगिन सुरक्षाका लागि राजनीतिक संयन्त्रको प्रयोग गर्छ’ भन्ने दाबी झट्ट सुन्दा आश्चर्यजनक लाग्ने दाबी गर्छन् । म्याकेसले पहिलोपटक यो मौन संक्रमण तब देखे जब उनका सहकर्मी युरोपेली सांसदले युरोप संसारमा रहनका लागि उत्तम ठाउँ हो भनी घोषणा गर्न थाले ।

म्याकेस एक विशेष मूल्य–मान्यताको प्रणालीमा जोड दिन्छन्, जुन युरोपको सभ्यताजनित पहिचानको आधार हो । र, यसले राष्ट्रवादझैँ सभ्यतावादका पनि असल र खराब संस्करण औल्याउँछ । राष्ट्रवादका अग्रणी विद्वान् ह्यान्स कनले सन् १९४५ मा एक पुस्तकमा पश्चिमा र पूर्वी राष्ट्रवादबीच विवादास्पद भिन्नता औँल्याएका थिए । उनका दाबीअनुसार केवल पश्चिमा राष्ट्रवादमा स्वतन्त्र व्यक्ति ज्ञान–युगको सम्पदासँग जोडिएको छ जुन मध्य एवं पूर्वी युरोपेली र एसियाली राष्ट्रवाद थिएन ।

हंगेरीका भिक्टर ओर्बन र अमेरिकाका डोनाल्ड ट्रम्पजस्ता राष्ट्रवादी एवं लोकरिझ्याइँवादी राजनीतिज्ञले आफ्नो राजनीतिक भाष्यमा युरोपेली सभ्यतावादी बहसको नक्कल गर्ने गरेका छन् । यी नेता खुला रूपमा आफ्नो देशको सिमानालाई अन्तर्राष्ट्रिय कानुनभन्दा पनि सभ्यता र अन्ततः नश्लीय विचारका आधारमा परिभाषित गर्ने प्रयास गर्छन् । धेरै युरोपेली देशमा दक्षिणपन्थी लोकरिझ्याइँवादी नेताले दिनानुदिन युरोपेली सभ्यताको पहिचानका कुरा गरिरहेका छन् । र, यिनले युरोपेली पहिचान निर्माण गर्न गैरधार्मिक रूपमा इसाई धर्मलाई पनि स्वीकार गर्छन् र यहुदीद्वेषी विचारविरुद्धका भावनाजस्ता उदारवादका आफूअनुकूल केही अवयवलाई छनोट गर्छन् । 

‘हामी बजारका लागि आवश्यक कच्चा पदार्थ आपूर्ति गर्छौँ’ भन्दै इतिहासकार एरिक हब्सवमले एकपटक इतिहासकार र राष्ट्रवादको सम्बन्धलाई अफिम उत्पादक र हेरोइन दुव्र्यसनीको सम्बन्धसँग तुलना गरेका थिए । सबै राष्ट्र नवोदित छन् र राजनीतिक आधुनिकताको युगमा छन्, तर ‘जेले राष्ट्र निर्माण गर्छ र एउटा राष्ट्रलाई अर्काका विरुद्ध उभिनुलाई न्यायोचित बनाउँछ त्यो विगत हो’ हब्सवम थप्छन् । हब्सवमका अनुसार इतिहासकारले विगत उत्पादन गर्ने भएकाले तीखा शब्दमा ‘मेरो पेसा राजनीतिक मुद्दामा संलग्न हुनबाट बच्न सक्दैन’ भनेका थिए । र, यो सभ्यतावादमा पनि लागू हुन्छ ।

राष्ट्र–राज्यलाई राजनीतिक संरचनाका रूपमा न्याय गर्ने उच्च व्यवस्थाको सिद्धान्तका रूपमा रहेको सभ्यतावादी विचारलाई राष्ट्रवादको सेवामा प्रयोग गरियो भने के हुन्छ? यस विषयलाई दार्शनिक सर्वपल्ली राधाकृष्णनले करिब एक शताब्दीअघि लेखेका केही टिप्पणीमा सम्बोधन गरिएको छ । ‘हामीले समग्र मानवताका लागि एक स्थिर सभ्यता निर्माण गर्नुअघि प्रत्येक ऐतिहासिक सभ्यताले विश्वको आदर्श सभ्यता बन्नका लागि आफ्नो सीमितता र अयोग्यताबारे थाहा पाउनुपर्छ’ राधाकृष्णनले आफ्नो पुस्तक ‘कल्की अर द फ्युचर अफ सिभिलाइजेसन’मा सभ्यताको भविष्यबारे टिप्पणी गरेका छन् । हालको दम्भी सभ्यताको बहसलाई विचार गर्दा राधाकृष्णनको नम्रताको आह्वान भविष्यदर्शी र प्रेरक देखिन्छ ।

सभ्यतावादको उन्माद हटेर विश्वले नयाँ, न्यायपूर्ण र शान्तिपूर्ण विश्वव्यापी राजनीतिक व्यवस्थालाई स्वीकार गर्नेछ भन्ने आशा गर्ने ठाउँ मात्रै छ । द इन्डियन एक्सप्रेसबाट
 

सुझावित समाचार