दोलखाको चरिकोट जिरी सडकखण्डअन्तर्गत गौरीशंकरवाल गृहनजिकै गाडी र मोटरसाइकल ठोक्किँदा मोटरसाइकलचाललको मृत्यु भएको छ। भीमेश्वर नगरपालिका– ४ अनाथालयनजिकै विपरीत दिशाबाट आइरहेको मोटरसाइकललाई गाडीले ठक्कर दिँदा सोही वडाका ३३ वर्षीय मोटरसाइकलचालक उमेश श्रेष्ठको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
चरिकोटबाट तामाकोसीतर्फ जाँदै गरेको प्रदेश नं ३–०१०२४ च ५९१९ नम्बरको योद्धा गाडी रजिलुबाट चरिकोट आउँदै गरेको बा.७५ प ४५२१ नम्बरको मोटरसाइकलसँग ठोक्किएर घाइते श्रेष्ठलाई चरिकोटस्थित पशुपति चौलागाईं स्मृति अस्पतालमा पुर्याइएको र उपचारका क्रममा उनलाई मृत घोषणा गरिएको थियो।
गाडीसहित चालकलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुशील केसीले बताए। मृतकको शव हाल सोही अस्पतालमा राखिएको छ। रासस