बर्खा सुरु हुनै लाग्यो, अझै स्वीकृत भएन मनसुन पूर्वतयारी कार्ययोजना

आइतबार, २२ जेठ, २०७९
डिजिटल संस्करण

यसै साताभित्र मनसुन भित्रिने प्रक्षेपण गरिएको छ । पूर्वी नेपालबाट मनसुन भित्रिएसँगै बर्खायाम सुरु हुन्छ । एक सय १२ दिन नेपाली आकाशमा रहने मनसुनकै भरमा धानखेती हुन्छ भने यही याममा बाढीपहिरोले क्षति निम्त्याउने गर्छ । जल तथा मौसम विज्ञान विभागले यस वर्ष औसतभन्दा धेरै वर्षा हुने प्रक्षेपण गरिसकेको छ । संयुक्त राष्ट्रसंघीय आवासीय प्रतिनिधिको कार्यालय नेपालले भने आगामी बर्खामा बाढीपहिरोबाट कम्तीमा १७ लाख जनसंख्या प्रभावित हुने आकलन गरेको छ । तर, बर्खा सुरु हुनै लाग्दा सरकारले ‘मनसुन पूर्वतयारी तथा प्रतिकार्य कार्ययोजना’ नै स्वीकृत गरेको छैन ।

राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता डा. डिजन भट्टराई भने कार्ययोजना तयारी अवस्थामा रहेको र आगामी साताभित्र प्राधिकरण कार्यकारी समितिबाट स्वीकृत हुने दाबी गर्छन् । कार्यकारी समिति गृहमन्त्रीको अध्यक्षतामा रहन्छ । कार्ययोजनाले बाढीपहिरोबाट हुने सम्भावित क्षति न्यूनीकरण, पूर्वतयारी, घटना भए उद्धार र खोजमा परिचालन हुने निकायको जिम्मेवारी तोक्ने गर्छ । 

‘चुनावका कारण कार्ययोजना बनाउन केही ढिलो भएको हो । तर, अहिले हामीले कार्ययोजना तयार गरिसकेका छौँ,’ उनले भने, ‘प्रदेश र स्थानीय तहलाई कार्ययोजना बनाउन एक महिनाअघि नै भनिसकेको र जिल्ला प्रशासन कार्यालयले पनि बनाइसकेकाले खासै समस्या हुँदैन ।’

तर, विपत् व्यवस्थापनविज्ञ डा. सुबोध ढकाल पूर्वतयारी कार्ययोजना बनाउन ढिला भएको बताउँछन् । ‘पूर्वतयारी कार्ययोजना भनेपछि कम्तीमा एक महिनाअघि नै बनाइसक्नुपर्ने हो । यस्तो तयारीबाट क्षति कम गर्न सकिन्छ । हामी विपत्पछि उद्धार र राहतमै केन्द्रित छौँ,’ ढकालले भने, ‘सरकारले गत वर्ष पनि बर्खा लाग्नै लाग्दा कार्ययोजना बनाएको थियो ।’ 

ढकाल संघले बनाएको कार्ययोजनामा टेकेर प्रदेश, स्थानीय तहले बनाउँदा मात्र प्रभावकारी हुने सुझाव दिन्छन् । ‘संघले बनाएको कार्ययोजनाका आधारमा प्रदेश, स्थानीय तहले आफ्नो क्षेत्रमा कार्ययोजना बनाएर लागू गर्ने हो,’ उनले भने, ‘समन्वयविना नै जाँदा त कसरी घटना न्यूनीकरण हुन्छ ?’

मौसम विभागले भने मनसुनी कार्ययोजना बनाइसकेको छ । कार्ययोजनामा उल्लेख भएअनुसार मौसमको नियमित प्रक्षेपणसँगै विशेष अवस्थामा तीन दिनअघि नै चेतावनीसहितको आकस्मिक बुलेटिन जारी गर्ने, अतिभारी वर्षाको पूर्वानुमान पाँच दिनअघि नै जानकारी दिने उल्लेख छ । त्यस्तै, ठूला नदीमा बाढी पूर्वानुमान तीन दिनअघि नै र साना नदीमा दुईदेखि ६ घन्टाअघि पूर्वानुमान गर्ने जनाएको छ । बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकम र एनसेलका प्रयोगकर्ताको मोबाइलमा बाढी चेतावनीसहितको एसएमएसलाई पनि निरन्तरता दिने विभागको मनसुनी कार्ययोजनामा उल्लेख छ । 

गत वर्ष मनसुन भित्रिएसँगै मुलुकभर ठूलो वर्षा हुँदा सिन्धुपाल्चोकको मेलम्ची, मनाङलगायत क्षेत्रमा क्षति पुर्‍याएको थियो । असार पहिलो साता र मध्यसाउनको बाढीले मेलम्ची बजार बगाएको थियो भने मेलम्ची खानेपानी आयोजना नै ठप्प बनाएको थियो । त्यसबाहेक अन्य जिल्लामा बाढीपहिरोमा बर्खामा मात्र एक सय ३८ जनाले ज्यान गुमाएका थिए । ६ वर्षमा बर्खामा मात्र बाढीपहिरोबाट एक हजार दुई सय १५ को मृत्यु भएको विपत् प्राधिकरणको तथ्यांक छ ।

नेपालमा सबैभन्दा बढी विपत्का घटना बर्खामा हुने गरेका छन् । गत वर्ष बर्खामा बाढीपहिरो, चट्याङ, हावाहुरी, महामारी, सर्पदंशलगायत १० प्रकारका एक हजार दुई सय ६८ घटना भए, जसमा दुई सय १७ जनाको मृत्यु भएको थियो भने ४३ बेपत्ता भएका थिए । एक हजार एक सय ४८ जना घाइते भएका थिए । आठ सय १३ घर पूर्ण रूपमा क्षतिग्रस्त हुँदा पाँच सय ४८ घरमा आंशिक क्षति पुगेको थियो । ६४ करोड ३६ लाखको क्षति भएको थियो । 

पछिल्लोपटक सबैभन्दा ठूलो बाढी ०७४ मा आएको थियो । ०७४ मा तीन सय ३८ स्थानमा बाढी जाँदा एक सय ६६ जनाको ज्यान गएको थियो भने ४२ जना बेपत्ता भएका थिए । तर, घर क्षतिको हिसाबले ०७१ को बाढी ठूलो रह्यो । त्यस वर्ष आठ हजार ६ सय २२ घर पूर्ण रूपमा क्षतिग्रस्त भए भने २४ हजार चार सय ४७ घरमा क्षति पुर्‍याएको थियो । एक अर्ब ४९ करोडको नोक्सानी भएको थियो । 

विपत् व्यवस्थापनविज्ञ ढकालले सूचना प्रणाली (घटनाका विवरण)मा सरकारले काम गरे पनि बाढीपहिरोको जोखिम न्यूनीकरणमा प्रभावकारी बन्न नसकेको बताए । ‘गत वर्ष बर्खाको सुरुवातमै ठूलो क्षति भयो, यो वर्ष पनि धेरै पानी पर्छ भनिएको छ । तर, हामीले तयारी गर्न सकेका छैनौँ,’ उनले भने, ‘बाढीपहिरो आउनुअघि सम्भावित जोखिमयुक्त ठाउँमा न्यूनीकरणको काम भएको छैन । एकीकृत रूपमा काम भएको देखिँदैन ।’

समयमै कार्ययोजना नबनाएपछि घटना कसरी न्यूनीकरण गर्न सकिन्छ ? : डा. सुबोध ढकाल, विज्ञ, विपत् व्यवस्थापन
पूर्वतयारी कार्ययोजना भनेपछि कम्तीमा एक महिनाअघि नै बनाइसक्नुपर्ने हो । यस्तो तयारीबाट क्षति कम गर्न सकिन्छ । तर, हामी विपत्पछि उद्धार र राहतमै केन्द्रित छौँ । सरकारले गत वर्ष पनि बर्खा लाग्नै लाग्दा कार्ययोजना बनाएको थियो ।

गत वर्ष बर्खाको सुरुवातमै ठूलो क्षति भयो, यस वर्ष पनि धेरै पानी पर्छ भनिएको छ । तर, हामीले तयारी गर्न सकेका छैनौँ । बाढीपहिरो आउनुअघि सम्भावित जोखिमयुक्त ठाउँमा न्यूनीकरणको काम भएको छैन ।

एकीकृत रूपमा काम भएको देखिँदैन । संघले बनाएको कार्ययोजनाका आधारमा प्रदेश, स्थानीय तहले आफ्नो क्षेत्रमा कार्ययोजना बनाएर लागू गर्ने हो । समन्वयविना नै जाँदा त कसरी घटना न्यूनीकरण हुन्छ ?

औसतभन्दा अगाडि नै भित्रिँदै मनसुन
नेपालमा औसत १३ जुनमा मनसुन भित्रिने गर्छ । तर, यो वर्ष दुई–तीन दिनअघि नै भित्रिने आकलन गरिएको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् गंगा नगरकोटीले बताइन् । यसपटक बंगालको खाडीनजिकको निकोबार र एन्डमान टापुमा औसतभन्दा अघि नै मनसुनी गतिविधि सक्रिय भएपछि भारतमा मनसुन सुरु भइसकेको छ । 

‘त्यसको अप्रत्यक्ष असर नेपालमा पनि देखिन थालेको छ । जलवाष्पयुक्त हावा प्रवेश गर्न थालेसँगै मनसुन सुरु भएको मानिनेछ,’ मौसमविद् नगरकोटीले भनिन्, ‘मनसुन सुरुवातमै सक्रिय हुन्छ कि हुँदैन भनेर अहिल्यै आकलन भइसकेको छैन ।’ करिब चार महिनाको मनसुनी अवधिमा मात्र नेपालमा औसत १५ सय मिलिमिटर पानी पर्छ, जुन वार्षिक वर्षाको ८०.५ प्रतिशत हो ।

यस वर्ष मनसुनमा प्रदेश १ का उत्तरी, मधेसका अधिकांश क्षेत्र र बागमतीका दक्षिणी भेगबाहेक अन्य सबै क्षेत्रमा औसतभन्दा धेरै वर्षाको प्रक्षेपण जल तथा मौसम विज्ञान विभागले गरिसकेको छ ।

प्रदेश १ का तराई भूभाग, बागमतीका उत्तरपूर्वी, गण्डकीका दक्षिणी, लुम्बिनी, कर्णालीका उत्तर–पश्चिम तथा सुदूरपश्चिमका उत्तरी भेगमा धेरै वर्षा हुन सक्ने प्रक्षेपण छ ।

औसतभन्दा बढी वर्षा आकलन प्रतिशतमा हेर्दा ती क्षेत्रमा ५५ देखि ६५ प्रतिशत हुन जान्छ । सुदूरपश्चिमको पूर्वी, कर्णालीको मध्य, गण्डकीको मध्य–पश्चमी र प्रदेश १ को मध्य भूभागमा पनि औसतभन्दा केही बढी वर्षाको आकलन गरिएको छ । प्रदेश १ का उत्तरी, मधेसका अधिकांश क्षेत्र र बागमतीका दक्षिणी भेगमा भने औसत वर्षाको सम्भावना नै ३५–४५ प्रतिशत मात्रै छ । 

See More On

सुझावित समाचार