वामपन्थीबीच एकता हुनुपर्छ तर अहिले सम्भावना निकै कमजोर छ : झलनाथ खनाल (भिडियोसहित)

शनिबार, २१ जेठ, २०७९
डिजिटल संस्करण

सत्तासाझेदार नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले स्थानीय तहको निर्वाचनको परिणामपछि आफ्नो पार्टी सत्तारुढ गठबन्धनभित्र धेरै असन्तुष्ट रहेको बताएका छन् । शनिबार पार्टीको सचिवालय बैठकपछि सञ्चारकर्मीहरूले राखेका जिज्ञासाको जवाफ दिने क्रममा खनालले सम्मानजनक ढंगले गठबन्धन हुँदै नभएको जिकिर गरे । 

उनले आफूहरूको असन्तुष्टि सत्तारुढ दलहरुको बैठकमा राखिएको र आन्तरिक रूपमा पनि छलफल गरेर एउटा निष्कर्षमा पुग्ने प्रतिक्रिया दिए । फरक प्रसंगमा खनालले तत्काल वामपन्थी दलहरूबीचको एकताको आवश्यक्ता औँल्याउँदै त्यो सम्भावना भने अहिलेलाई निकै कमजोर रहेको बताए । 

उनले, ‘वामपन्थीहरूबीच एकता हुनु वस्तुगत आवश्यकता हो । तर यतिबेला वामपन्थी आन्दोलनका मुख्य नेताहरू अहिले वामपन्थी एकताको पक्षमा देखिनुहुन्न । यसो हुनाले तत्काल वामपन्थी एकताको आवश्यकता भए पनि त्यो सम्भावना निकै कमजोर छ । हामी स्थानीय तहको निर्वाचनबाट धेरै असन्तुष्ट छौँ। किनभने यो पाँच दलको गठबन्धनभित्र सम्मानजनक ढंगले गठबन्धन हुँदै भएन । हाम्रो असन्तुष्टि पाँचदलभित्र पनि राखेका छौँ। हामी आफैँ पनि समीक्षा गर्दै छौंँ। अब हामी ठ्याक्कै यो समीक्षाको बीचमा छौँ । समीक्षा गरिसकेपछि अब के के निस्कन्छ, त्यस आधारमा हामी तपाईंहरूसँग फेरि कुरा गर्छाैँ ।’

सुझावित समाचार