बोलेरोको ठक्करबाट पाँच वर्षीय बालककाे मृत्यु

शुक्रबार, २० जेठ, २०७९
डिजिटल संस्करण

काभ्रेको बनेपा– ११ स्थित बनेपा–पनौती सडकखण्डको धनेश्वरमा बोलेरोको ठक्करबाट पाच वर्षीय बालकको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय बनेपाका प्रमुख प्रहरी निरीक्षक नारायण थापाका अनुसार बोलेरोको ठक्करबाट घाइते सिन्धुपाल्चोक जिल्ला सुनकोसी गाउँपालिकाका पाँच वर्षीय आशिष अधिकारीको उपचारको क्रममा बनेपाको शिर मेमोरियल अस्पतालमा मृत्यु भएको हो । 

पनौतीबाट बनेपातर्फ आउँदै गरेको बागमती प्रदेश ३, २२ च ३२९१ नम्बरको बोलेरोले  विद्यालयबाट घर फर्कने क्रममा बालकलाई ठक्कर दिएको प्रहरी निरीक्षक थापाले जानकारी दिए । बालक बनेपा नगरपालिका– ११ स्थित धनेश्वर आधारभूत विद्यालयमा नर्सरीमा अध्ययनरत थिए ।

बोलेरोचालक र बोलेरो गाडी प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको प्रहरीले जानकारी दिएको छ । बालकको शव बनेपास्थित शिर मेमोरियल अस्पतालमा रहेको प्रहरीले जनाएको छ । 
 

सुझावित समाचार