शुक्लागण्डकी नगरपालिकामा सेवा प्रवाह सञ्चालन केन्द्रको शुभारम्भ

शुक्रबार, २० जेठ, २०७९
डिजिटल संस्करण

मुख्य गेटबाट छिर्नेबित्तिकै बीचमा टेबुल, छेउछाउमा कुर्ची, कुर्चीमाथि सेतो सर्ट र निलो पाइन्ट लगाएका कर्मचारी । त्यहाँ पुग्नेबित्तिकै दुई हात जोडेर के सेवा गरौँ भन्ने प्रश्न । झट्ट हेर्दा कुनै निजी कम्पनीका कर्मचारीजस्ता। कुनै निजी कम्पनीले व्यावसायिक कामकाजका लागि खटाएका कर्मचारीजस्तै देखिने दृश्य । तर, यी दृश्य न कुनै निजी कम्पनीको प्रवर्द्धनमा खटिएका कर्मचारी नै हुन् न त कुनै फिल्मी दृश्य । यी दृश्य हुन् तनहुँको शुक्लागण्डकी नगरपालिकामा कार्यरत कर्मचारीको । बिहीबारबाट सेवा प्रवाह केन्द्र सुरु गरेपछि त्यहाँका कर्मचारीले निभाएका लोभलाग्दा दृश्य थिए यी । 

शुक्लागण्डकी नगरपालिकाले सार्वजनिक सेवा प्रवाहलाई छिटो र छरितो पार्न सेवा प्रवाह सञ्चालन केन्द्र सुरु गरेको छ । बिहीबारदेखि नगरपालिकाले सर्वसाधारणलाई छिटो, छरितो, पारदर्शी र नागरिकमैत्री तुल्याउन कार्यालयले सेवा प्रवाह सञ्चालन केन्द्र सुरु गरेको हो । सेवाग्राहीलाई फाइल बोकेर कोठाकोठा चहार्नुपर्ने बाध्यताको अन्त्य गर्न नगरपालिकामा सेवा प्रवाह सञ्चालन केन्द्र सुरु गरिएको नगरप्रमुख कृष्णराज पण्डितले बताए।

‘सर्वसाधारणहरू विभिन्न काम लिएर नगरपालिका आउँछन् । कतिपय सेवाग्राहीलाई कहाँ जाने हो, कोसँग भेट्ने हो थाहा हुँदैन । जसले गर्दा उनीहरू अलमलिन्छन् । त्यसैले उनीहरूको सहजताका लागि सेवा प्रवाह केन्द्र सञ्चालनमा ल्याएका हौ । नगरपालिकाको भुइँतलामा टेबुल, कुर्सी र छेउमा सोफा छ । कर्मचारीहरू कुर्सीमा बसेर सेवाग्राहीको फाइल हेर्छन् । हेरेपछि सम्बन्धित शाखाको कर्मचारीले रुजु गर्छन् । त्यतिवेलासम्म सेवाग्राही सोफामा बसेर आराम गर्छन्,’ पण्डितले भने । 

सेवाग्राहीलाई सेवाको प्रकार, प्रकृति, समय र शुल्क प्राप्ति प्रक्रियाबारे सहजीकरण गर्ने गरी सार्वजनिक सेवा बडापत्रमा उल्लेखित सर्तबमोजिमको जिम्मेवारी र उत्तरदायित्व बहन गर्न सक्ने सार्वजनिक प्रशासनको विकास हुने विश्वास छ । सेवा प्रवाह सञ्चालन केन्द्रलाई नगरपालिकाले कार्यसंस्कृति, कर्मचारीको कार्य आबद्धता, सेवाको गुणस्तर र सेवाग्राही सन्तुस्टि अभिवृद्धिमा पुलको रूपमा उपयोग गर्ने अपेक्षा गरिएको छ ।

नगरपालिकाले सार्वजनिक सेवा, बडापत्रबमोजिम तोकिएको समय, विधि प्रक्रिया र मापदण्डबमोजिम गर्ने जनाएको छ । त्यस्तै कार्यालयको आन्तरिक नियन्त्रण प्रणालीलाई सहज बनाउने योजना पनि छ । त्यस्तै, सार्वजनिक सेवा प्रवाहलाई प्रविधिमैत्री बनाउने योजना रहेको प्रमुख प्रसासकीय अधिकृत लीलाबल्लभ न्यौपानेले बताए । ‘हामीले पहिलोपटक सेवा केन्द्र सञ्चालनमा ल्याएका हौँ, यसले सर्वसाधारणलाई सहज सेवा दिन मद्दत पुग्छ भन्ने विश्वास छ, हेर्दै जाउँ कति सफल भइन्छ,’ उनले भने ।

सर्वसाधारण पनि कोठाकोठामा नपुगीकन सोफामै बसेर काम हुने भएपछि उत्साहित भएका छन् । जिल्लामा रहेका दश स्थानीय तहमध्ये शुक्लागण्डकी नगरपालिकाले मात्रै सेवा प्रवाह सञ्चालन केन्द्र सुरु गरेको हो । 
 

सुझावित समाचार