टेक्सास युभाल्डीमा जब १८ वर्षीय बन्दुकधारीले १९ स्कुले बालबालिका र दुई शिक्षकको गोली हानी हत्या गरे, तब राष्ट्रपति जो बाइडेनले ‘म हालै एसिया यात्राबाट फर्किंदै थिएँ र विमानमा हुँदा यो (टेक्सास गोलीबारी) बारे थाहा पाएँ र त्यो १७ घन्टाको उडानमा मलाई यस प्रकारको सामूहिक गोलीबारी संसारमा बिरलै हुन्छ भन्ने तथ्यले छोयो’ भन्दै शोक र क्रुद्धतासहित सम्बोधन गरेका थिए ।
उनी गलत बिल्कुलै छैनन् । सिएनएनले सन् २००९ देखि सन् २०१८ सम्म विश्वभरका विद्यालयमा भएका गोलीकाण्डको अध्ययन गरेको थियो । जहाँ अमेरिकामा गोलीबारी ‘अन्य ६ जी–७ मुलुकका कुल गोलीबारीको ५७ गुणा बढी छ ।’ यो भयंकर डरलाग्दो आँकडा हो । कुनै पनि सद्धे व्यक्तिले यो तथ्यांक सुन्दा आखिर यस्तो किन भनेर प्रश्न गर्छ नै । र, राष्ट्रपति बाइडेनले ‘अन्य राष्ट्रका मानिस पनि घरेलु द्वन्द्वबाट ग्रस्त छन् । त्यहाँ पनि मानिस बेपत्ता भएका छन् । तैपनि, अमेरिकामा जति त्यहाँ सामूहिक गोलीबारी हुँदैन, किन ?’ भन्दै प्रश्न गरेका थिए ।
यो आज मुलुकले सामना गर्ने सबैभन्दा महत्वपूर्ण प्रश्न हुन सक्छ, तर आममानिस र कम्तीमा डेमोक्य्राटको प्रतिक्रिया ‘बन्दुकमा पहुँच प्राप्त गर्न धेरै सजिलो छ नि !’ भन्ने हुन्छ । उसो त यो जवाफ र मुलुकलाई तुरुन्तै संवेदनशील बन्दुक नीति चाहिन्छ भन्नु गलत छैन, तर यस्तो उत्तरले अमेरिकी समाजको हिंसात्मक संरचनालाई प्रश्नको घेराबाट बाहिर राखिदिन्छ, अर्थात् बन्दुकले हिंसा बढाउन सक्छ ।
के अमेरिकाका अधिकांश मानिसले आफ्नो मुलुक कति हिंस्रक छ भन्ने बुझेका छन् ? यही वर्ष २७ विद्यालयमा गोलीबारी भइसकेको छ र हामी यस वर्षको जुनमा मात्रै छाँै । यदि विद्यालयबाहिरका गोलीबारी हेर्नुभयो भने सन् २०२२ को जुनसम्ममा दुई सय १३ सामूहिक गोलीबारी भइसकेका छन् । अर्थात्, प्रत्येक दुई दिनमा करिब तीन सामूहिक गोलीबारी हुन्छन् ।
यद्यपि सामूहिक हत्यारा मात्र अमेरिकामा हुने बन्दुक हिंसाका दोषी होइनन् । यो साता दुई वर्षअघि मिनियापोलिसमा जर्ज फ्लोयडको हत्याको स्मृति गरिरहँदा हामीले वासिंगटन पोस्टका अनुसार सन् २०२१ मा प्रहरीले गोली चलाउँदा एक हजार ५५ जनाको मृत्यु भएको तथ्य बिर्सिनु हुँदैन । यो संख्या वासिंगटन पोस्टले सन् २०१५ यता आँकडा राख्न थालेदेखिकै सबैभन्दा बढी हो । अमेरिकामा अन्य धनी देशको तुलनामा प्रहरीले अत्यधिक दरमा नागरिकको हत्या गर्छ ।
यस्तो मुलुक, जसले आफ्नो दण्ड व्यवस्थाको आकार र गम्भीरतामा सबैभन्दा बढी विकास–लगानी गर्छ र भर पर्छ, त्यही मुलुक आफैँले सिर्जना गरेको हिंसाको चपेटामा परेको छ । यसबाहेक अमेरिकाले अन्य मुलुकका तुलनामा धेरै मानिसलाई कैद गरिराखेको छ । प्रत्येक एक लाखमध्ये लगभग ६ सय ६४ व्यक्ति अमेरिकी जेलमा छन् । विश्वभरका जेलमा रहेका महिलामध्ये एकतिहाइ महिला अमेरिकी जेलमा छन् ।
पक्कै पनि हामीलाई एक संवेदनशील बन्दुक कानुन आवश्यक छ, तर के यसले आममानिसलाई बन्दुकको अनुरागबाट रोक्न सक्छ ? हामीमध्ये कतिले ‘क्रिड अफ अ युनाइटेड स्टेट्स म्यारिन’ पढेका छौँ ? जहाँ एक बन्दुकधारी ‘मेरो बन्दुक मेरो सबैभन्दा नजिकको साथी हो । बन्दुक मेरो जीवन हो र मैले बन्दुकलाई मेरो जीवनको सारथि बनाउनुपर्छ’ भन्छ । ऊ थप्छ, ‘मविना बन्दुकको कुनै उपादेयता छैन र बन्दुकविना मेरो कुनै अस्तित्व छैन ।’ हुन सक्छ यो अभिव्यक्ति सैन्य प्रेरणाका सन्दर्भमा अर्थपूर्ण होला, तर हामी सबैले यो विचारधारा मान्ने गर्छौं भन्ने तितो यथार्थलाई स्वीकार गरौँ । हामी स्नाइपर (टाढाको निसाना साध्ने गरी प्रशिक्षित बन्दुकधारी) लाई सम्मान गर्छौं र राष्ट्रनायक बनाउँछौँ । र, यी स्नाइपरबारे भनिएका कुरा गलत भए पनि हामी यिनका सफलतामा चलचित्र बनाउँछौँ ।
हामीले यस मुलुकमा शान्ति स्थापनाबारे कुरा गर्दै गर्दा हामीले धेरै युद्ध छेडेका छौँ अर्थात् हाम्रो इतिहासको ९३ प्रतिशत सैन्य युद्धले भरिएको छ । र, इतिहासमा अमेरिकी हतियार एक उद्योग, किंवदन्ती र पहिचान एकै साथ बनेको छ । हामीले हाम्रो मुलुक विशेषतः नश्लभेदी हिंसाको रापमा डढिरहेको छ भनेर कहिले थाहा पाउँछौँ ? क्यारोल एन्डरसनले भनेझैँ यस देशका दास अश्वेतलाई नियन्त्रण र आतंकित गर्न बन्दुक र हिंसा प्रयोग हुन्थे । त्यसैगरी बन्दुकविना कुनै पनि सन्धि तोडिन्थेनन् वा आदिवासीका थातथलोमा कब्जा जमाइन्थेनन् । वास्तवमा हाम्रा कानुन नै बन्दुक र हिंसामा आधारित छन् ।
बन्दुक र हिंसाप्रतिको अमेरिकी लगावले नागरिक डराएका त छन्, तर यसले आफ्नै नरसंहार र जातिवादी विगतलाई पनि झल्काउँछ । वास्तवमा अमेरिकी हिंसाको जरो विस्थापन औपनिवेशिकता (सेटलर कोलोनियालिजम) मा आधारित छ । दार्शनिक हाना एरेन्तका अनुसार अमेरिकी हिंसाको जरो विस्थापन औपनिवेशिकतामा आधारित छ । रैथानेलाई विस्थापन गरेर आफ्नो रजगज जमाउन थालेपछि उपनिवेशीहरू ‘हिंस्रक संयन्त्र’ बन्न पुग्छन् ।बन्दुक औजार हुन सक्छ, तर बन्दुक हिंसाको कारक होइन । यदि हामी इमानदार हुने हो भने हालका हिंसा एक दलगत मुद्दा मात्रै नभई हाम्रो राष्ट्रिय त्रासदीका धेरै लामो र घनिष्ठ हिस्सा हो । द गार्जियनबाट