नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नवनिर्वाचित जनप्रतिनिधिलाई थप जिम्मेवार भएर काम गर्न निर्देशन दिएका छन्। माओवादी केन्द्रबाट स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिलाई आयोजना गरिएको तालिम तथा प्रशिक्षण कार्यक्रममा बोल्दै उनले यो कार्यकालमा जनप्रतिनिधिलाई थप जिम्मेवार र उत्तरदायी भएर काम गर्न आग्रह गरेका हुन्।
माओवादीले काठमाडौंको कुमारी हलमा नवनिर्वाचित जनप्रतिनिधिलाई दुईदिने तालिम तथा प्रशिक्षण कार्यक्रम आयोजना गरेको छ। तालिमको उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले स्थानीय सरकारको काम स्थानीयवासीले अनुभूत गर्ने भएकाले त्यहाँ नेतृत्व गर्ने व्यक्ति जिम्मेवार हुनुपर्ने बताए। ‘अबको पाँच वर्ष स्थानीयका समस्यालाई ध्यानमा राखेर काम गरौँ,’ उनले भने, ‘यसले पार्टीलाई पनि राम्रो गर्छ।’ उनले स्थानीय तहका जनप्रतिनिधिले बजेट तथा वार्षिक कार्यक्रम बनाउँदा ख्याल गर्नुपर्ने बताए। जनताको आवश्यकतामा बजेट खर्च गरेर स्थानीयका समस्या समाधान गर्न पनि उनले जनप्रतिनिधिहरूलाई आग्रह गरे। उनले यसपटकको चुनावबाट माओवादी तेस्रो शक्तिको रूपमा रहेको बताउँदै यो कार्यकालमा जनप्रतिनिधिले जनप्रिय काम गर्न सके पार्टीलाई पनि फाइदा पुग्ने उनको भनाइ छ।
दुई दिनसम्म चल्ने तालिम तथा प्रशिक्षणमा स्थानीय तहमा निर्वाचित मेयर, उपमेयर, पालिका अध्यक्ष, उपाध्यक्षलगायतको उपस्थिति रहेको छ। पार्टीले दुईदिनसम्म उनीहरूलाई स्थानीय सरकारमा कसरी काम गर्ने भन्नेबारे तालिम दिनेछ। यसपटकको निर्वाचनमा माओवादी केन्द्रले एक सय २२ वटा स्थानीय तहमा प्रमुख र एक सय २८ उपप्रमुख पदमा जितेको छ।