आइजिपी बढुवाविरुद्धको मुद्दामा सुनुवाइ सकियो

मंगलबार, १७ जेठ, २०७९
डिजिटल संस्करण

सर्वोच्च अदालतमा प्रहरी महानिरीक्षक (आइजिपी) बढुवाविरुद्धको मुद्दामा सुनुवाइ सकिएको छ। मुद्दाको न्यायाधीशद्वय विश्वम्भरप्रसाद श्रेष्ठ र डा. कुमार चुडालको इजलासमा सुनुवाइ भएको हो।

सरकारले धीरजप्रताप सिंहलाई आइजिपीमा बढुवा गरेकोविरुद्ध दायर भएको मुद्दामा सर्वोच्चले आज अन्तिम सुनुवाइका लागि पेसी तोकेको थियो। गत वैशाख २२ गते न्यायाधीश सुस्मालता माथेमाको एकल इजलासले लिखित जवाफ माग गर्दै अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको थियो। न्यायाधीश माथेमाको इजलासले अन्तिम सुनुवाइका लागि आज पेसी तोक्ने आदेश गरेको थियो।

प्रहरी महानिरीक्षकमा धीरजप्रताप सिंहलाई नियुक्त गर्ने मन्त्रिपरिषद्को निर्णयविरुद्ध प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) विश्वराज पोखरेलले १९ वैशाखमा सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका थिए।

सरकारले पहिलो वरीयतामा रहेका एआइजी विश्वराज पोखरेललाई प्रहरी प्रमुख नबनाई तेस्रो वरीयतामा रहेका धीरजप्रताप सिंहलाई आइजिपी बनाएपछि विवाद चुलिएको थियो। एआइजी पोखरेलले आफूभन्दा कनिष्ठलाई सरकारले प्रहरी ऐन र नियमावलीविपरीत आइजिपी बनाएको भन्दै सर्वोच्च अदालतमा रिट दर्ता गरेका थिए।

सुझावित समाचार