बजेट चुनावलक्षित नभएकाे अर्थमन्त्री शर्माको प्रष्टोक्ति

सोमबार, १६ जेठ, २०७९
डिजिटल संस्करण

अर्थमन्त्री जनार्दन शर्माले सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटमा चुनावसँग सम्बन्धित कुनै पनि कुरा नभएको दाबी गरेका छन् । सोमबार बजेटबारे अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अर्थमन्त्री शर्माले उत्पादन वृद्धि गर्ने, आत्मनिर्भर अर्थतन्त्र बनाउने, तलब वृद्धि गर्नेल गायतका कुनै पनि विषयहरू चुनावसँग सम्बन्धि छ भनेर भन्न नमिल्ने स्पष्टोक्ति दिएका हुन् । 

उनले चार वर्षअघिको सरकारले ल्याएको कार्यक्रमलाई पनि बजेटले निरन्तरता दिएको उल्लेख गर्दै त्यसलाई पनि चुनावी बजेट भन्न मिल्छ र ? भनी प्रश्नसमेत गरे । ‘यो चुनावी बजेट हो भनिएको छ । यहाँ चुनावको कुरा छैन कहीँ पनि । हिजो दिइरहेको कुरा निरन्तर गरिएको हो । अलिकति तलमाथि गरेकोबाहेक के चुनावी गरिएको छ र ? उत्पादन वृद्धि गर्ने कुरा चुनावी कुरा हो र ? आत्मनिर्भर हुनुपर्छ भन्ने कुरा चुनावी कुरा हो र ? तीन वर्षको स्वतः तलब बढाउने कुरा थियो कर्मचारीहरूको । ऐनमै त्यसको व्यवस्था छ । तलब बढाउनु चुनावी कुरा होइन । तालिम दिनुपर्छ युवाहरूलाई भन्ने कुरा चुनावको कुरा हुँदैन । किसानलाई पेन्सन दिने कुरा पनि चुनावी कुरा होइन । यो चुनावी कुरा होइन, उत्पादन बढाउने कुरा हो,’ अर्थमन्त्री शर्माले भने, ‘यसलाई चुनावी बजेट भनियो, यो चुनावी बजेट होइन । विगतकै बजेटको पनि निरन्तरता धेरै छन् । तीन चार वर्षअघिको सरकारले बनाएको बजेट पनि चुनावी बजेट हो त ?’

अर्थमन्त्री शर्माले सरकारको प्रस्तुत गरेको नीति तथा कार्यक्रमअनुसार नै बजेट आएको पनि स्पष्ट पारे । उनले आगामी आर्थिक वर्षको बजेटमा रोजगारी सिर्जना गर्ने, गरिबीको अन्त्य गर्ने, स्रोत तथा साधनहरूको सही परिचालन र व्यवस्थापन गर्नेजस्ता विषयहरू बजेटमा समेटिएको बताए । उनले स्वदेशी वस्तुको प्रयोग सरकारबाटै सुरु गर्ने विषयलाई बजेटमा उच्च प्राथमिकता दिइएको बताए । अर्थ मन्त्रालयमा प्रयोग गरिएको सेनिटाइजरसमेत विदेशी भएको पाइएकाले पनि आफूहरूले स्वदेशी वस्तुको प्रयोगमा जोड दिने निष्कर्ष निकालिएको उनको भनाइ छ । ‘सेनिटाइजर स्वदेशी आओस् । मास्क पनि स्वदेशी आओस् । सुरु कसले गर्ने त ? पहिला सरकारले गर्नुपर्यो । सरकारमा बस्ने पहिले हामीले नै सुरु गर्नुपर्यो । त्यसो गर्ने प्रतिबद्धता हामीले गरेका छौँ र, हामीसँग धागो कारखाना छ । कपडा उद्योग छ । प्राइभेट धागो कारखाना छ । तिनलाई पनि सहुलियत दिँदै छौँ । तिनलाई हामी सुविधा दिँदै छौँ । बिजुलीमा सुविधा दिन्छौँ हामी । निर्यात गर्दा नगद इन्सेन्टिभ दिन्छौँ । त्यसबाट हामी उनीहरूलाई उत्साहित गर्न खोजिराखेका छौँ । टायर उद्योग, रबर उद्योग त्यत्तिकै छ । त्यसलाई बेच्नुपर्ने अवस्था छ,’ उनले भने । 

मन्त्री शर्माले सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेट पूर्ण रूपमा कार्यान्वयन हुने दाबीसमेत गरे । उनले बजेटमा निर्माण व्यवसायीलगायतका केही विषयहरू छुटेको कुरा बाहिर आएको उल्लेख गर्दै त्यसलाई समेटेर अघि बढ्ने प्रतिबद्धतासमेत व्यक्त गरे । अर्थमन्त्री शर्माले बजेट पूर्ण र उत्कृष्ट नभए पनि देश र जनताको आकांक्षालाई सम्बोधन हुने गरी आएको बताए ।  

‘यो पूर्ण छ ?, उत्कृष्ट छ ?, होइन । राम्रो गरौँ भनेर कोसिस गरिएको छ । कुनै क्षेत्र छुटेको होला । कुनैमा ध्यान नपुगेको पनि होला । त्यसका लागि पनि हामी क्षमाप्रार्थी छौँ । हाम्रो टिमले जति सक्यो, त्यति गर्यौँ,’ उनले भने, ‘हामीलाई के विश्वास छ भने यसलाई कार्यान्वयन पनि गर्न सक्छौँ हामी ।’ अर्थमन्त्री शर्माले बजेटले आयात प्रतिस्थापन गर्ने, स्वदेशी उत्पादनमा जोड दिने, रोजगारीको अवसर सिर्जना गर्ने कामलाई प्राथमिकता दिएको पनि दाबी गरे । 

सुझावित समाचार