सरकारले मूल्य अभिवृद्धि कर २४औँ संशोधन नियमावली, २०७९ स्वीकृत गर्ने निर्णय गरेको छ। जेठ १३ र १५ गते बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो।
सोमबार मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सरकारले अन्तःशुल्क २३औँ संशोधन नियमावली, २०७९, भन्सार १३औँ संशोधन नियमावली, २०७९ र आयकर १३औँ संशोधन नियमावली, २०७९ स्वीकृत गर्ने निर्णय गरेको बताए।
यस्ता छन् अन्य निर्णयहरू :
बेल्जियमको राजधानी ब्रसेल्समा जेठ १८ देखि १९ सम्म आयोजना हुने ग्लोबल समिट २०२२, टर्निङ द टाइट अन चाइल्ड सेक्सुअल अबुस अनलाइन कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य सलोनी सिंहलाई सहभागी हुन स्वीकृत प्रदान गर्ने,
नेपाल बैंक लिमिटेडको स्वामित्वमा सुर्खेत जिल्लामा रहेको जग्गा नेपाल राष्ट्र बैंकलाई लिजमा दिन स्वीकृत दिने,
गणतन्त्र दिवस २०७९ को अवसरमा उपमाकान्त पराजुलीसमेत १६ जना व्यक्तिहरूको सजाय माफी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने,
नेपाली सेनाका प्रधानसेनापति महारथी प्रभुराम शर्मा नेतृत्वको भ्रमण दललाई युनिफिल, लेबनान र युएनडफ, सिरिया तथा मित्रराष्ट्र संयुक्त राज्य अमेरिकामा भ्रमणमा जान स्वीकृत दिने,
नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानको कार्यकारी समितिको सदस्यमा प्रकाशबहादुर श्रेष्ठलाई मनोनयन गर्ने,
सुरक्षण मुद्रण विकास समिति गठन तेस्रो संशोधन आदेश, २०७९ को दफा ६ को उपदफा ३ (क) बमोजिम सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक विकल पौडेलको पदावधि एकपटकको लागि थप गर्ने,
परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल थापाथलीमा पदाधिकार रहेका प्रमुख कन्सल्टेन्ट अब्स्ट्रेटिक्स एन्ड गाइनाेकोलोजिस्ट डा. जागेश्वर शर्मा गौतमले दिएका राजीनामा स्वीकृत गर्ने,
लोकसेवा आयोगको सिफारिसबमोजिम निजामती सेवाको राजपत्रांकित प्रथम श्रेणीको पदमा नियुक्ति तथा पदस्थापना गर्ने,
बजेट तथा अर्थसम्बन्धी विधेयकहरू संघीय संसदमा पेस गर्ने,
मूल्य अभिवृद्धि कर २४औँ संशोधन नियमावली, २०७९ अन्तःशुल्क २३औँ संशोधन नियमावली २०७९, भन्सार १३औँ संशोधन नियमावली, २०७९ र आयकर १३औँ संशोधन नियमावली, २०७९ स्वीकृत गर्ने,