के ठूला निगमबाट चोरी गर्नु जायज हो ?

सन् २००८ को वित्तीय संकटपछि समाजले निगमहरूलाई के योगदान दियो र तिनले समाजलाई के दिए, त्यसको लेखाजोखा गर्दा ठूलो असमानता झल्किन्छ

सोमबार, १६ जेठ, २०७९
डिजिटल संस्करण

यदि तपाईंले मानिसलाई के चोरी गर्नु ठीक हो ? भनेर प्रश्न गर्नुभयो भने सम्भवतः होइन भन्ने जवाफ पाउनुहुनेछ । चोरी सधैँ खराब हुन्छ भन्ने परमतŒववादी अवधारणा १८औँ शताब्दीका दार्शनिक इम्मानुएल कान्टको अवधारणासँग मिल्छ, अर्थात् उनले नैतिक सिद्धान्त अटुट हुन्छ भन्ने विश्वास गर्थे । यद्यपि, विषयवस्तु कान्टले आकलन गरेभन्दा जटिल हुन सक्छ । उदाहरण, हालको जीविका संकटका वेला सुपरमार्केटका अधिकारीले जीविकाका लागि संघर्ष गरिरहेकाहरूको चोरीलाई नजरअन्दाज गर्ने गरेको बताएका छन् । कन्स्टेबुलरीका नयाँ प्रमुख इन्स्पेक्टर एन्डी कुकले पनि पेट भर्नकै लागि चोरी गर्ने व्यक्तिलाई सजाय दिने वा नदिने निर्णयमा पुलिसले ‘विवेक’ प्रयोग गर्नुपर्छ भनेर सिफारिस गरेका छन् । 

यदि हामीले नैतिक मापदण्डका अपवादलाई मान्छौँ भने पनि के कुनै ठूला निगमबाट गरिने चोरी स्वीकार्य वा माफीयोग्य हुन सक्छ भन्ने प्रश्न उठ्छ । म कुनै पनि प्रकारको चोरीलाई समर्थन गर्दिनँ । यद्यपि, दार्शनिकका लागि यो प्रश्न चाखलाग्दो विचारको प्रशिक्षण हो । हालैका वर्षमा व्यवसाय विशेषतः ठूला निगम र उद्योगप्रति समाजको धारणा परिवर्तन भएको छ । कम्पनीहरू उपभोक्ताले उच्च नैतिकता पालन गरून् भन्ने चाहन्छन् भने तिनले आफूलाई जलवायु परिवर्तन र अनैतिक व्यवहारका लागि जवाफदेही बनाउन सक्नुपर्छ । र, सम्भवतः निगमबाट गरिने चोरी त्यतिवेला जायज हुन्छ, जतिवेला निगमले पहिल्यैदेखि हामीबाट चोरी गरिरहेको हुन्छ । तर, ग्राहकलाई सीधै धोका दिने अवस्थाबाहेक ‘चोरी’को अवधारणाको व्याख्या हाम्रा लागि गाह्रो छ ।

सामाजिक अनुबन्ध टुट्दै : एउटा ठूलो निगमले आफ्नो सामाजिक अनुबन्धका सर्त पूरा गर्न असफल भएर समाजबाट चोरी गर्न सक्छ । थोमस हब्स र ज्याँ–ज्याक रुसोजस्ता दार्शनिकले बनाएको सामाजिक अनुबन्धले एक यस्तो अनुबन्धलाई जनाउँछ जसमा व्यक्ति वा संस्थाले बृहत् सामाजिक लाभको बदलामा केही मात्रामा स्वतन्त्रता त्याग्छन् । उदाहरण, अरूले मलाई हिर्काउन नपाउने समाजमा रहनका लागि मैले अरूलाई प्रहार गर्नुहुँदैन भनेर स्पष्ट रूपमा स्वीकार गरेको हुनुपर्छ ।

सामाजिक अनुबन्धलाई सामान्यतया व्यक्ति र राज्यबीचको सम्बन्धका रूपमा लिइन्छ । यद्यपि यातायात, शिक्षा र कानुनी सुरक्षासहित सामाजिक सुरक्षा ठीक ढंगले चलिरहेका सन्दर्भमा व्यवसायबाट राज्यलाई फाइदा हुन्छ । त्यही भएर राज्यले महामारीका वेला (र त्यसअघि आर्थिक संकटका वेला) निजी क्षेत्रका संस्थालाई सहयोग कोष, ऋण र अन्य उपायबाट जोगाउन कदम चालेका थिए । यो सहयोगको सट्टामा निजी क्षेत्रका संस्थाको सामाजिक अनुबन्धले उनीहरूलाई सामाजिक मूल्य सिर्जना गर्न र समाजमा सकारात्मक योगदान गर्नुपर्ने हुन्छ ।

मानकविरुद्ध अनियमितता : हालैका वर्षमा निजी क्षेत्रका अनियमितताले सो क्षेत्रका सामाजिक अनुबन्धलाई सधैँ पूरा हुँदैनन् भन्ने देखाएको छ । वित्तीय संकट, अटोमोबाइल प्रदूषण, ओपियोइड दुखाइको औषधि अन्धाधुन्ध बेचबिखन, डाटा साझेदारी र वातावरणीय अपराधलगायतका उदाहरणलाई लिन सकिन्छ ।
सन् २००८ को वित्तीय संकटको असरपछि समाजले निगमहरूलाई के योगदान दियो र तिनले समाजलाई के दिए, त्यसको लेखाजोखा गर्दा ठूलो असमानता झल्किन्छ । यो असमानतामा परिवर्तनका निम्ति अन्तर्राष्ट्रियस्तरमा ‘अकुपाई’ नामक असमानताविरोधी आन्दोलनले बृहत् रूप लियो । सर्वसाधारणले वस्तु, सेवा र रोजगारी प्रदान गर्नुका साथै निगमले समाजलाई के दिन्छन् भन्नेबारे जवाफदेहिताको माग गरेका थिए । अकुपाई आन्दोलनपछि ग्राहकले खरिद निर्णयहरू कत्तिको बलियो हुन सक्छन् भन्ने बुझेका छन् जसले निगमहरूलाई सुधार गर्न उत्प्रेरित गरेको छ । लागत १० खर्ब डलरभन्दा बढी भएको टेस्ला पहिलो कम्पनीले अन्य कम्पनीलाई विद्युतीय सवारी विकासको गति बढाउन बाध्य बनाएको थियो ।

कर्पोरेट क्षेत्रले पनि फरक ढंगले काम गर्नु भन्ने सुझाबलाई सकारात्मक रूपमा ग्रहण गरिरहेका छन् । बि–कप्र्स अभियान ‘असल कामका लागि व्यापारिक पहलकदमी’ भन्ने उद्देश्य भएको प्रमाणीकरण अभियानले सन् २००६ यता चार लाखभन्दा बढी कर्मचारी भएका पाँच हजारभन्दा बढी उद्यम समावेश गरेको छ । युनिलिभर, हम्र्स इन्भेस्टमेन्ट, नेटवेस्टलगायत कम्पनीले आफूहरू सामाजिक उद्देश्यबाट निर्देशित छौँ भनेर देखाउन कडा मिहिनेत गरेका छन् । नियामकहरूले पनि व्यवसायमा नैतिकता माग राखिरहेका छन् । यद्यपि, निरन्तर सार्वजनिक एवं सरकारी दबाबविना यी कर्पोरेट उपाय नैतिकताको छारो हाल्ने कामबाहेक केही हुन सक्दैनन् ।

नैतिक नियमका अपवाद : मेरो अनुसन्धानमा निगमहरू तब मात्र समाजमा क्रियाशील हुन्छन्, जब समाजले निगमहरूलाई सामाजिक अनुमतिपत्र दिन्छ र यो तथ्यलाई मान्यता दिइनुपर्छ भन्ने प्रस्ट भएको छ । यो अनुमति समग्र समाजलाई फाइदा पुग्ने सर्तमा मात्र दिइन्छ । र, यसो हुन असफल भएमा कम्पनी सञ्चालनका लागि सामाजिक अनुमतिपत्र रद्द हुन सक्छ । कान्टको विचार प्रतिकूल देखिन्छ, अर्थात् नैतिक मापदण्डमा अपवाद छन् । उदाहरण तपाईंले हत्यारालाई हत्या गर्नबाट रोक्न झुट बोल्नुपर्ने हुन्छ । अर्थात् दार्शनिकहरूले सामाजिक सम्झौता तोड्ने निगमबाट चोरी गर्नु सधैँ अनैतिक होइन भन्न सक्छन् ।

तसर्थ, व्यवसायहरूले आफ्नो सामाजिक अनुमतिपत्रका दायित्व पूरा गर्नु नै सबैभन्दा उत्तम विकल्प हो । निगमहरूबाट चोरी गर्नुको सट्टा, उपभोक्ता, श्रमिक, सेयरधनी र नागरिकका रूपमा निजी क्षेत्रका संस्थालाई नैतिकतापूर्ण व्यवहार गर्न प्रोत्साहित गरिनुपर्छ । द कन्भर्सेसनबाट

सुझावित समाचार