संसद् बैठकमा प्रस्तुत आगामी आर्थिक वर्षको बजेटबारे सांसदहरूले मिश्रित प्रतिक्रिया दिएका छन् । बजेट भाषण सुनेपछि सांसदहरूले पत्रकारहरूसँग संक्षिप्त कुराकानी गर्दै आ–आफ्नो धारणा सार्वजनिक गरेका हुन् ।
पूर्वप्रधानमन्त्री तथा जसपा संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले बजेटमा रूपान्तरणकारी ढंगका योजना आाउन नसकेको बताए । भट्टराईले रूपान्तरणकारी ढंगका योजनाहरू आउन नसकेको बताए । उनले ६८ वर्षमा वृद्धभत्ता दिने घोषणाको विरोध गर्दै आफूले पनि वृद्धभत्ता नलिने घोषणा गरे ।
एमाले सांसद तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलले बजेट अनुत्तरदायी र हावादारी भएको टिप्पणी गरे । सरकारले आफ्नो सीमा र हैसियत बिर्सेर बजेट ल्याएको उनको आरोप छ । अर्थमन्त्रीको पदीय हैसियतलाई दुरुपयोग गरेर चुनावमा भोट बटुल्नका लागि मात्रै बजेट आएको उनले जिकिर गरे ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बजेटले कृषि, ऊर्जा, पर्यटन र कनेक्टिभिटीलाई महत्वका साथ अगाडि बढाएको बताए । अन्तर्राष्ट्रिय व्यापार असन्तुलनलाई पाँच वर्षभित्र अन्त्य गर्न जोड दिएको पनि उनले बताए । बजेटले मुलुकको अर्थतन्त्रमा देखा परेको समस्यालाई सम्बोधन गर्ने उद्देश्य राखेको उनको दाबी छ ।
माओवादी केन्द्रका सांसद वर्षमान पुनले बजेटले कृषि क्षेत्रलाई प्राथमिकता दिएको बताए । बजेटले उत्पादनमुखी अर्थतन्त्रतिर लगेको उनको भनाइ छ ।
प्रमुख प्रतिपक्षी दल एमालेका सांसद खगराज अधिकारीले बजेटमा कुनै विश्वसनीयता नभएको बताए । बजेटले वित्तीय अनुशासन कायम गर्न नसकेको उनको भनाइ छ । उनले गेमचेन्जर परियोजनाहरूलाई पनि कुनै सम्बोधन गर्न नसकेको आरोप लगाए ।
एमाले सांसद भीम रावलले बजेटले उपभोग नहुने वस्तुहरू आयात रोक्ने कुरा नगरेको बताए । कार्यक्रम कार्यान्वयन गर्ने क्षमता सरकारसँग नभएको उनको दाबी छ ।
लोकतान्त्रिक समाजवादी पार्टीका सांसद लक्ष्मणलाल कर्णले निर्वाचनलाई केन्द्रित गरेर पपुलिस्ट बजेट ल्याइएको आरोप लगाए । बजेट कार्यान्वयन गर्न गाह्रो हुने र कुनै पनि कुरा पूरा नहुने उनको ठोकुवा छ ।