बजेटमा सडकलाई प्राथमिकता, आगामी वर्ष ८०० किमि सडक सञ्जाल विस्तार गरिने (भिडियोसहित)

आइतबार, १५ जेठ, २०७९
डिजिटल संस्करण

सरकारले आगामी आर्थिक वर्षमा देशभर ८ सय किलोमिटर सडक सञ्जाल विस्तार गर्ने घोषणा गरेको छ। अर्थमन्त्री जनार्दन शर्माले आगामी वर्षको बजेटमार्फत देशभरी सडक विस्तार र स्तरोन्नतिलाई प्राथमिकता दिएका हुन्।

काठमाडौं–तराई द्रुतमार्ग आगामी ३ वर्षभित्र निर्माण सम्पन्न गरिने भएको छ। यो सडकका लागि ३० अर्ब ७ करोड रुपैयाँ बिनियोजन गरिएको छ। अहिले काठमाडौं–दराई द्रुतमार्ग नेपाली सेनाले धमाधम निर्माण गरिरहेको छ। यो सडकलाई काठमाडौं–तराई जोड्ने लाइफलाइनका रूपमा हेरिएको छ।

मध्यपहाडी (पुष्पलाल) राजमार्गका विभिन्न ठाउँमा कालपात्रे गर्न र पुलहरु बनाउन ९ अर्ब ३३ करोड रुपैयाँ बिनियोजन गरिएको छ। तराईका हुलाकी मार्गहरुमा कालोपत्रे गर्न र ठाउँठाउँमा पुल निर्माण गर्नका लागि ६ अर्ब ७ करोड बजेट बिनियोजन गरिएको भने मदन भण्डारी राजगर्मा स्तरोन्नतीलाई विशेष प्राथमिकता दिइने भएको छ। यो सडकका लागि बजेटमा २ अर्ब ९१ करोड रुपैयाँ बिनियोजन गरिएको छ।
 
यस्तै, काठमाडौंबाट पोखरा जोड्ने पृथ्वी राजगर्मा, मुग्लिन–नारायण सडकखण्डको विस्तार तथा स्तरोन्नतीका लागि प्राथमिकता दिइएको छ। यो सडकको स्तरोन्नतीका लागि १० अर्ब बेजट बिनियोजन गरिएको छ। उत्तर–दक्षिण राजमार्गलाई ४ अर्ब विनियोजन गरिएको छ। तराईका व्यापारिक राजमार्ग निर्माण आगाी वर्षभित्र सकिने घोषणा गरिएको। त्यहाँका कोरिडोर सडक बनाउन ६ अर्ब रुपैयाँ बिनियोजन गरिएको छ।

देशका ७७ जिल्लाका सदरमुकाम जोड्ने सडकमध्ये कालोपत्रे हुन बाँकी सडकमा कालोपत्रे गर्न बजेट विनियोजन गरिएको छ। काठमाडौंबाट चितवनमा एक घण्टामा पुग्ने गरी चन्द्रागिरी, चित्लाङ हुँदै चितवनसम्म जोड्ने गरी द्रुर्तमाग निर्माण कार्य प्रकृया अगाडि बढाइने अर्थमन्त्री शर्माले बताए। 

यस्तै, चतरा–सगरमाथा द्रुतमार्ग निर्माण गरेर दुई घण्टामा सगरमाथा पुग्ने अवस्था सिर्जना गरिने घोषणा गरिएको छ। गल्छी–त्रिशुली–रसुवागढी सडकको विभिन्न ठाउँमा कालोपत्रे र स्तरोतेन्नती गर्न १ अर्ब ६३ करोड विनियोजन गरेको अर्थमन्त्री शर्माले बताएका छन्। काठमाडौं उपत्यकाको भित्री चक्रपथअन्तर्गत कलंकी–महाराजगन्जसम्मको सडक विस्तारका लागि एक अर्ब बिनियोजन गरिएको छ। यस्तै, सातदोबाटो र ग्वार्कोमा फ्लाई ओभर बनाइने भएको छ। ग्वार्कोमा फ्लाई ओभरको काम धेरै अगाडि बढिसकेको छ।

रुपन्देही–पाल्पा सडक खण्डको सिद्धबाबामा सुरुङ मार्ग निर्माण सुरु गरिने बजेटमा उल्लेख गरिएको छ। यस्तै, पूर्व–पश्चिम राजमार्ग अन्र्तगतको बर्दघाट–दुम्किबास लगायत विभिन्न ठाउँमा सुरुङमार्ग अध्ययन कार्य सम्पन्न गर्ने घोषणा गरिएको छ।

काठमाडौंका तीन भञ्ज्याङमा सुरुङमार्ग बनाउन अध्ययन गरिने पनि अर्थमन्त्रीले बताए। विभिन्न ठाउँमा सुरुङमार्ग अध्यनमा १ अर्ब १९ करोड विनियोजन गरिएको छ भने बुटवलको तिनाउँलगायत विभिन्न ठाउँमा सिग्नेचर पुल बनाइने बताइएको छ। विभिन्न ठाउँमा सिग्नेचर पुल बनाउन र सम्भाव्यता अध्ययन गर्न १० अर्ब विनियोजन गरिएको अर्थमन्त्री शर्माले बताए।

See More On

सुझावित समाचार