सम्पर्कविहीन भएको तारा एयरको जहाजको खोजीकार्य जारी रहे तापनि हालसम्म पत्ता लाग्न सकेको छैन। हराइरहेको जहाज खोज्न नेपाली सेनाकाे हेलिकोप्टर प्रयोग गरिएको छ। यद्यपि, जहाज कहाँ छ र कुन अवस्थामा छ भन्ने पत्ता नलागेको मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले बताए।
बिहान ९ः५५ बजे पोखराबाट १९ यात्रु बोकेर मुस्ताङको जोमसोम उडेको तारा एयरको ९एन-एइटी कलसाइनको ट्विनट्टर जहाज घोडेपानी कटेपछि १०ः३० बजेदेखि सम्पर्कविहीन भएको बताइएको छ।
प्रजिअ शर्माका अनुसार त्यस क्षेत्रको मौसम प्रतिकूल छ। हाल दुईवटा हेलिकोप्टर खोजीकार्यमा प्रयोग भइरहेका छन्। ‘हालसम्म हामीले सर्चिङ गरिरहेका छौँ, यो ठाउँमा हो कि भनेर शंका मात्रै लागेको हो, तर पत्ता लागेको छैन,’ प्रजिअ शर्माले भने, ‘मौसम प्रतिकूलका कारण खोजीकार्यमा समस्या भइरहेको छ।’
जहाजमा १३ जना नेपाली, चारजना भारतीय र दुईजना अन्य देशका नागरिक गरी १९ यात्रु र तीनजना चालक दलका सदस्यसहित २२ जना थिए।