स्थानीय ब्रान्डको प्रवर्द्धन प्राथमिकतामा
अनलाइन बजार दराजले ‘प्राउड्ली नेपाली–प्रमोटिङ नेपाली ब्रान्ड’ नामक नयाँ अभियानको घोषणा गरेको छ । नेपाली ब्रान्डहरूको प्राथमिकता र प्रवर्द्धन गर्ने अभियानको मुख्य लक्ष्य रहेको प्रबन्ध निर्देशक आँचल कुँवरले बताइन् । उनका अनुसार प्राउड्ली नेपाली वान टाइम अभियान मात्र नभई एक दीर्घकालीन परियोजना रहेको छ ।
यसबाहेक यो अभियानले दराजसँग सम्बन्धित स्थानीय ब्रान्ड र विक्रेताहरूलाई अनलाइन उपस्थिति बढाउन र आधुनिक डिजिटल युगमा सजिलैसँग व्यापार सञ्चालन गर्न प्रत्यक्ष सहयोग गर्नेछ । दराज सहयात्री र सारथिजस्ता विगतका कार्यक्रमहरूले ११ हजारभन्दा बढी विक्रेताहरूलाई आफ्नो व्यवसाय अनलाइन स्थानान्तरण गर्न प्रत्यक्ष रूपमा मद्दत पुगेको कम्पनीले जनाएको छ । यो अभियानमार्फत दराजले नेपाली ब्रान्डहरूलाई अनलाइनमा आफ्नो उपस्थिति र भिजिबिलिटी बढाउन मद्दत गर्ने आशा राखेको छ ।
फुलु, जुआस, सिजी डिजिटल, मन्त्र, गोल्डस्टार, यासुडाजस्ता उत्कृष्ट नेपाली ब्रान्डहरूका साथै अन्य स्वदेशी ब्रान्डहरूबारे थप जानकारी दिने अवसर प्रदान गर्ने कम्पनीको विश्वास छ । यसका साथै यो अभियानले औसत नेपाली उपभोक्ताको धारणालाई पनि परिवर्तन गर्न खोजेको कम्पनीले जनाएको छ ।