नेकपा (माओवादी केन्द्र)का सांसद गजेन्द्र महतले प्रतिनिधिसभाका सभामुखलाई तालाचाबी बुझाएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा सांसद महतले प्रमुख प्रतिपक्षीले आफ्ना कुरा राख्ने, तर अर्काको कुरा नसुन्ने प्रवृत्ति देखाएको भन्दै प्रतिकात्मक रूपमा तालाचाबी बुझाएका हुन्।
शुक्रबारको बैठकमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीलेन्द्रप्रसाद बडूले आफ्ना धारणा राख्ने क्रममा एमाले सांसदले संसद् अवरोध गरेका थिए । एमाले अध्यक्ष केपी ओलीले बिहीबारकाे बैठकमा नेपाल आयल निगमलाई खारेज गरेर पेट्रोलियम पदार्थको वितरणको जिम्मा निजी क्षेत्रलाई दिन लागिएको र त्यसबापत मोटो रकम कमिसन खान खोजिएको आराेप लगाएका थिए । शुक्रबार मन्त्री बडूले ओलीको सो टिप्पणीलाई ‘आधारहीन, झुटा, पूर्वाग्रही र आपत्तिजनक’ भएको प्रतिक्रिया दिँदै त्यसको जवाफ मागेपछि एमाले सांसदहरूले बैठक अवरुद्ध गरेका थिए ।
त्यसतर्फ इंगित गर्दै सांसद महतले तालाचाबी बुझाएका हुन् । 'उहाँहरू धित मरुन्जेल गाली गर्नुहुन्छ तीन घन्टा, धित मरेपछि अवरोध गर्न खोज्नुहुन्छ, यसलाई ताला लगाउन खोज्नुहुन्छ,' उनले भने, 'तपाईंहरू धित मरुन्जेल बोल्नुहोला हामी बोल्ने वेला तालाचाबी लगाइदिनुहोला। जतिवेला बोल्न मन लाग्छ आउनुहोला र तालाचाबी खोल्नुहोला अनि बोल्नुहोला।'
गाली गर्नेलाई संसद्मा तीन घन्टा समय दिइए पनि कर्णालीको आवाज सुनाउने आफूलाई तीन मिनेट मात्र समय दिइएकोप्रति पनि उनले असन्तुष्टि जनाए। उनले भने, 'गाली गर्नेलाई तीन घन्टा कर्णालीको आवाज सुनाउनेलाई तीन मिनेट छ । यति समयमा के भन्ने मलाई गाह्रो भइरहेको छ।'
शुक्रबारको संसद् बैठकमा प्रमुख प्रतिपक्षी दल एमालेका नेता केपी शर्मा ओली बोलेका थिए । २६ साउन ०७८ मा सत्तागठबन्धनको न्यूनतम साझा कार्यक्रममाथि टिप्पणी गरेपछि ओली संसद्को रोस्ट्रम गएका थिएनन्।