राज्यले दायित्व पूरा नगर्दा लाखौँ नेपाली गैरनागरिक भएका छन् : उपेन्द्र यादव

शनिबार, १४ जेठ, २०७९
डिजिटल संस्करण

जनता समाजवादी पार्टी (जसपा)का सांसद उपेन्द्र यादवले नेपाल सरकारका कारण नेपालीहरूले नागरिकता पाउन नसकेको आरोप लगाएका छन्। शनिबार प्रतिनिधिसभामा सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि छलफल गर्दै उनले यस्तो बताएका हुन्।

नेपाली नागरिकलाई नागरिकता दिनुपर्ने सरकारको दायित्व पूरा हुन नसक्दा नेपाली नागरिकहरूले समस्या भोग्नुपरेको उनले बताए। सांसद यादवले सरकारले नागरिकहरूलाई नागरिकता दिन नसक्दा नेपाली नागरिकका सन्तानहरू, राष्ट्रिय अधिकारबिहीन भएर बाँच्न विवश रहेको बताए। उनले सरकारले नागरिकता विधेयक तत्काल पास गरेर नेपाली नागरिकलाई नागरिकताको समस्याबाट मुक्ति दिनुपर्ने बताए।

‘अझै पनि लाखौँ नेपाली नागरिकहरू जसको आमा बुवा दुवै नेपाली नागरिक छन्। दुवैले जन्मसिद्ध नागरिकता प्राप्त गरेका छन्, तिनका सन्तान अझै पनि कसरी गैरनागरिक भएर बसेका छन्, कसरी गैरनागरिक बनाइएको छ। तिनलाई नागरिकता दिने दायित्व राज्यको हो,' उनले भने, 'राज्यले आफ्नो दायित्व पूरा नगर्दा ती नेपाली नागरिकहरू, नागरिकका सन्तानहरू, राष्ट्रिय र अधिकारबिहीन भएको अवस्थामा बाँच्न विवश छन्। गल्ती राज्यले गर्ने, राज्यले नदिने, त्यसको सजाय नागरिकले भोग्नुपर्ने ?’

सुझावित समाचार