मन्थलीमा दर्ताबिनाका बेकरी उद्योग छ्याप्छ्याप्ती

शनिबार, १४ जेठ, २०७९
डिजिटल संस्करण

अनुगमन गर्ने जिम्मा पाएको सरकारी निकायको फितलो अनुगमनका कारण सदरमुकाम मन्थलीमा इजाजत नलिई बेकरी उद्योग सञ्चलन गर्ने व्यवसायी बढेका छन्। नागरिकको स्वास्थ्यमा प्रत्यक्ष सरोकार राख्ने बेकरी उद्योगको अनुमगन गर्ने जिम्मा पाएका जिल्ला प्रशासन कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय र खाद्य तथा गुण नियन्त्रण डिभिजन कार्यालयसमेत चुपचाप रहेका छन्। यसको फाइदा उठाउँदै बेकरी उद्योगका सञ्चलकहरूले मनलाग्दी किसिमले उत्पादन गरेका वस्तु बिक्रीवितरण गर्दै आएका छन्।

बेकरी उद्योग सञ्चलन गर्ने व्यवसायीले घरेलु तथा साना उद्योग कार्यालयमा उद्योग दर्ता गरेर खाद्य तथा गुण नियन्त्रण विभागबाट उत्पादन गरेको वस्तु उपभोग गर्न योग्य छ वा छैन त्यसको लागि उत्पादित वस्तु परीक्षण गर्नुपर्ने हुन्छ। व्यवसायीले उत्पादित वस्तुसहित निवेदन दिनुपर्ने र उक्त वस्तु खानयोग्य भएमा मात्रै खाद्य तथा गुण नियन्त्रण विभागले अनुज्ञापत्र दिएपछि मात्रै उत्पादित वस्तु बजारमा बिक्री वितरणको लागि लैजानुपर्ने कानुनी प्रावधान छ।

जिल्लामा सञ्चालन भएका आधा दर्जन बेकरी उद्योगले अहिलेसम्म खाद्य तथा गुण नियन्त्रण विभागवाट अनुज्ञापत्र लिएका छैनन्। सदरमुकाम मन्थलीमा अहिले खुस्बु बेकरी उद्योग, पौडेल बेकरी उद्योग, गौरीशंकर बेकरी उद्योग, गिरीष बेकरी उद्योग र सुनापति बेकरी उद्योगलगायत आधा दर्जन बेकरी उद्योगहरू सञ्चालनमा छन्। यीमध्ये सुनापति बेकरी उद्योगबाहेक अन्य कुनै पनि बेकरी उद्योगले खाद्य तथा गुण नियन्त्रण विभागवाट अनुज्ञापत्र लिएका छैनन्।

अनुज्ञापत्र नलिएका बेकरी उद्योगले उत्पादन गरेका वस्तु उपभोग गर्न हानिकारक हुन सक्ने भएकाले यस्ता व्यवसायीलाई तत्काल कानुनी कारबाही गर्नुपर्ने उपभोक्ता मञ्च रामेछापका अध्यक्ष रामचन्द्र शर्माले बताए। उनले भने, ‘प्रत्यक्ष नागरिकको स्वास्थ्यमा सरोकार राख्ने बेकरी उद्योगले उपभोग गर्न मिल्ने वा नमिल्ने, उत्पादन भएको मिति र उपभोग गर्न मिल्ने मितिसमेत नराखी बजारमा बिक्री वितरण गरेको भेटिएको छ। उपभोग गर्न नमिल्ने अखाद्य वस्तु वजारमा बिक्रीवितरण गर्दासमेत अनुगमन गर्ने निकायको आँखा नपुग्नु दुःखद कुरा हो।’

व्यवसायीले घरेलु तथा साना उद्योग कार्यालयमा उद्योग दर्ता गरेको भए तापनि खानयोग्य छन् वा छैनन् भन्ने अनुगमन खाद्य तथा गुण नियन्त्रण विभागको भएको भन्दै कार्यालयका प्रमुख सुबोधकुमार शाह आफ्नो जिम्मेवारीबाट पन्छिए। उनले भने, ‘हाम्रो काम उद्योग दर्ता गर्ने मात्रै हो। अनुगमनको काम आफ्नो कार्यालयको भए तापनि यसमा बढी जिम्मेवारी लिने निकाय भनेको खाद्य गुण नियन्त्रण विभाग नै हो।’

यता जिल्लामा नियमविपरीत सञ्चलन भएका बेकरी उद्योगले अनिवार्य रूपमा खाद्य तथा गुण नियन्त्रण विभागमा दर्ता हुनुपर्ने, विभागबाट अनुज्ञापत्र लिनुपर्ने हुन्छ। विभागबाट अनुज्ञापत्र नलिएका सबै बेकरी उद्योगको तत्काल अनुगमन गरी ती उद्योग सञ्चालकलाई कानुनी कारबाहीको दायरामा ल्याइने खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सिन्धुलीका प्रमुख प्रमोदचन्द्र पौडेलले बताए। 

‘रामेछापका अधिकांश बेकरी उद्योगको अनुगमन गर्छौं, कानुनविपरीत काम गर्ने अधिकार कुनै पनि व्यवसायीलाई नभएकाले कानुनको दायरामा ल्याउने र कानुनी दायरामा आउन नमान्ने व्यवसायीको हकमा ती व्यवसायीको उद्योग तत्काल बन्द गर्नेसम्मको काम गर्छौं,’ उनले भने।

सुझावित समाचार