स्थानीय तह निर्वाचनमा बालबालिका प्रयोगका ११५ घटना

शुक्रबार, १३ जेठ, २०७९
डिजिटल संस्करण

स्थानीय तह निर्वाचनमा निर्वाचन आचारसंहिताविपरीत बालबालिका प्रयोग भएको पाइएको छ। निर्वाचनको वेेला गरिएको एक अध्ययनले एक सय १५ वटा यस्ता घटना भएको देखाएको हो।

बालबालिकालाई प्रचारप्रसार तथा विजय र्यालीमा प्रयोग गरिएकोबारे ‘बालबालिका शान्तिक्षेत्र राष्ट्रिय अभियान’ले अध्ययन गरेको थियो। जसअनुसार ४२ ठाउँमा एमालेका उम्मेदवारले बालबालिकालाई चुनावी प्रचारप्रसारमा प्रयोग गरेका भेटिएको छ। नेपाली कांग्रेसले ३५, एकीकृत समाजवादीले २०, माओवादी केन्द्रले १५ स्थानमा बालबालिकाको प्रयोग गरेकाे बताइएको छ। अन्य स्वतन्त्र उम्मेदवारले पनि निर्वाचन आचारसंहितविपरीत बालबालिकालाई चुनावमा प्रयोग गरेका घटना भेटिएका छन्। 

उनीहरूले चुनावी प्रचारमा जाँदा बालबालिकालाई सँगै लिएर गएको र पार्टीको झन्डा बोकाएर प्रचारप्रसारमा प्रयोग गरेको अध्ययनको दाबी छ। त्यस्तै, चुनावी प्रचारप्रसारमा दुईवटा स्कुलबससमेत प्रयोग भएको छ। यसबाहेक विद्यालयमा आमसभा गरेको पनि अध्ययनले देखाएको छ। 

निर्वाचन आयोगले तयार पारेको आचारसंहिताअनुसार चुनावी गतिविधिमा बालबालिकाको संलग्नता गराउन पाइँदैन। यसको उल्लंघन गर्ने दल तथा उम्मेदवारलाई कारबाही गर्ने व्यवस्था छ। तर, प्रमुख राजनीतिक दलकै उम्मेदवारले बालबालिकालाई चुनावमा प्रयोग गरेको बाल अधिकारकर्मी तारक धितालले बताए। उनका अनुसार सरकारी पक्षबाट अनुगमन र निगरानी नहुँदा बालबालिका चुनावी प्रचारप्रसारमा प्रयोग भएका हुन्।

अभियानले चुनावमा बालबालिका प्रयोग गर्ने पार्टी तथा उम्मेदवारलाई कारबाही माग गर्दै निर्वाचन आयोगमा उजुरी दर्ता गरेको छ। त्यसबारे आयोगले आवश्यक कारबाही भने अघि बढाएको छैन।

सुझावित समाचार