नेपाललाई इयूको प्रतिबन्ध सूचीबाट हटाउन माग

बिहिबार, १२ जेठ, २०७९
डिजिटल संस्करण
नेपाललाई इयूको प्रतिबन्ध सूचीबाट हटाउन माग

प्रतिकात्मक तस्बिर ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले तथा नेपालका लागि युरोपियन युनियनका राजदूत नोना डिप्रेजबीच आज मन्त्रालयमा भेटवार्ता भएको छ। मन्त्री आले तथा राजदूत डिप्रेजबीच नेपालको उड्डयन क्षेत्र सुरक्षित भएकाले इयूको सेफ्टी लिस्ट (प्रतिबन्ध)बाट नेपाललाई कसरी हटाउने भन्ने विषयमा छलफल भएको मन्त्री आलेका निजी सचिव मनोज अधिकारीले जानकारी दिए।

उक्त भेटवार्ताका क्रममा मन्त्री आलेले राजदूत डिप्रेजलाई अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ)ले नेपालको उडान सुरक्षाका आठ क्षेत्रमा नियामक निकायको हैसियतमा पालना गरेका कार्यको परीक्षणमा परिपालना दर प्रारम्भिक नतिजाअनुसार ७०.१ प्रतिशत रहेको र यो दर विश्वका अन्य देशका तुलनामा औसतभन्दा बढी भएकाले नेपाली आकाश सुरक्षित रहेको बताए।

उनले भने, 'आइकाओको नतिजाअनुसार नेपाली आकाश सुरक्षित रहेको भन्ने देखाएको छ। अब नेपाल इयूको प्रतिबन्ध सूचीबाट हट्नुपर्छ।'

आठ वर्षअघि इयूले नेपालको हवाई सुरक्षा कमजोर भएको मूल्यांकन गर्दै कालोसूचीमा राखेको हो। उता, नेपालले हवाई सुरक्षाका क्षेत्रमा राम्रो सुधार गरेको भन्दै आइकाओले नेपालको नाम आफ्नो कालोसूचीबाट हटाइसकेको छ। इयूले नेपालको हवाई क्षेत्रमा अन्तर्राष्ट्रिय मापदण्डबमोजिम पाइलटको योग्यता र तालिम हुनुपर्ने जनाएको थियो।

सोही भेटवार्ताका क्रममा नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का महानिर्देशक इ. प्रदीपकुमार अधिकारीले हाल प्राधिकरणले आइकाओको मापदण्डअनुसार पाइलटको योग्यता र तालिम व्यवस्थित रहेको जानकारी पनि दिएका थिए।

हाल नेपाल वायुसेवा निगम, बुद्ध एयर र हिमालय एयरलाइन्स गरी तीनवटा नेपाली वायुसेवाले अन्तर्राष्ट्रिय उडान गर्ने गरेका भए पनि इयूको कालोसूचीबाट नहटेसम्म युरोप उडान गर्ने अवस्था छैन। रासस

सुझावित समाचार