पोखराका मेयरको दाबी–भनसुन गर्नुपर्ने दिन सकिएछ भन्ने महसुस नगरबासीलाई गराउँछौँ

बुधबार, ११ जेठ, २०७९
डिजिटल संस्करण

पोखरा महानगरपालिकाका नवनिर्वाचित मेयर धनराज आचार्यले तोकिएकै समयमा काम सम्पन्न गरेर एक महिनाभित्र महानगरको सेवा प्रवाहमा नगरवासीले महसुस गर्ने गरी सुधार ल्याउने दाबी गरेका छन् । बुधबार पोखरामा पाँचदलीय निर्वाचन परिचालन कमिटी कास्कीको तर्फबाट आयोजित बधाई तथा धन्यवाद ज्ञापन कार्यक्रममा मेयर आचार्यले अबिरजात्रमा समय खेर फाल्ने पक्षमा आफूहरू नरहेको बताए ।

उनले १० दिनसम्ममा सबै वडामा पुग्ने र धन्यवादसहितको भेटघाट कार्यक्रम गर्ने बताए । ‘हामी अबिरजात्रामा समय खेर फाल्ने पक्षमा छैनौँ । मात्र १० दिन सिम्बोलिक रूपमा ३३ वटै वडाका निश्चित ठाउँमा जान्छौँ र त्यसपछि योजनाका साथ अगाडि बढ्छौँ,’ उनले भने । 

मेयर आचार्यले यसै महिनाको अन्त्यमा विज्ञ र पूर्वमेयरहरूका अनुभव सुन्न र कार्यशैली परिवर्तनका लागि ‘क्लोज क्याम्प’ गर्ने जानकारी दिए । क्लोज क्याम्प तीन दिन दुई रातको हुने उनले जानकारी दिए । ३३ वटै वडाका वडाध्यक्षसहित आफू र उपमेयर सहभागी हुने क्लोज क्याम्पमा मोबाइलसमेत निषेध गरिने उनले बताए । त्यसपछि एउटै स्पिरिटका साथ मेयरदेखि वडाध्यक्ष र सदस्य सबैले काम गर्ने उनको भनाइ छ । ‘त्यो तीन दिन मोबाइल बज्नेछैन । हामी सिंगो पोखराभित्र कस्तो सिस्टम राख्ने भन्ने विधि बनाउँछौँ । भनसुन गर्नुपर्ने दिन पोखरामा सकिएछन् भन्ने महसुस हामी नगरवासीलाई गराउँछौँ,’ उनले भने ।

उनले कम महत्वका कार्यक्रममा समय नबिताउने प्रतिबद्धता पनि जनाएका छन् । शपथ लिँदा नै अनुशासनसहित उपस्थित हुन र कोडको पालना गर्न उनले वडाध्यक्ष र सदस्यहरूलाई आग्रह गरेका छन् । 

पुष्पलालको सालिकमा माल्यार्पण र फूल रोपेपछि पदभार ग्रहण 
पोखरा महानगरमा निर्वाचित जनप्रतिनिधिले बिहीबार पोखरा सभागृहमा शपथ लिँदै छन् । शपथका लागि बिहान साढे नौ बजेका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय पोखराले समय निर्धारण गरेको छ । 

मेयर आचार्यले शपथग्रहणपछि पोखराको जिरो किलोमिटरदेखि हल्लनचोकसम्मको सडक डिभाइडरमा फूल रोपेर पदभार ग्रहण गर्ने योजना रहेको जानकारी दिए । आचार्यका अनुसार उनले फूल रोप्नुअगाडि पुष्पलाल पार्कमा रहेको पुष्पलालको सालिकमा माल्यार्पण गर्नेछन् । त्यसपछि सबै निर्वाचित जनप्रतिनिधिले डिभाइडरमा फूल रोप्नेछन् र दिउँसो पदभार ग्रहण गर्नेछन् ।

सुझावित समाचार