स्थानीय निर्वाचनमा पार्टीकाे निराशाजनक परिणामपछि रवीन्द्र मिश्रले दिए राजीनामा

बुधबार, ११ जेठ, २०७९
डिजिटल संस्करण
स्थानीय निर्वाचनमा पार्टीकाे निराशाजनक परिणामपछि रवीन्द्र मिश्रले दिए राजीनामा

तस्बिर : मिश्रकाे फेसबुकबाट

विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले राजीनामा दिएका छन्। बुधबार एक विज्ञप्ति जारी गर्दै पार्टीको साधारण सदस्य रहने गरी उनले अध्यक्ष पदबाट राजीनामा दिएका हुन्। 

स्थानीय निर्वाचन, २०७९ मा विवेकशील साझा पार्टीको निराशाजनक परिणाम आएको छ। जसका कारण आफूले पदबाट राजीनामा दिएको मिश्रले विज्ञप्तिमा उल्लेख गरेका छन्। ‘गत पाँच वर्ष तन, मन र धनले भ्याएसम्म पहिले संयोजक र पछि अध्यक्षका रूपमा निस्वार्थ र इमानदार प्रयास गर्दागर्दै पनि निर्वाचनमा जस्तो परिणाम आयो त्यसको सम्पूर्ण जिम्मेवारी लिँदै पार्टी अध्यक्षको पदबाट नैतिकताको आधारमा आजकै मितिबाट राजीनामा दिएको जानकारी गराउन चाहन्छु,’ उनले विज्ञप्तिमा लेखेका छन्, ‘म पार्टीको साधारण सदस्य रहिरहनेछु।’

विवेकशील साझाले यसपटक बाराको फेटा गाउँपालिकामा मात्रै अध्यक्ष जितेको छ। मिश्रले पार्टीलाई कसरी अगाडि बढाउने भन्नेबारे पार्टीको केन्द्रीय कार्य सम्पादन समिति तथा केन्द्रीय समितिले गहन छलफल र समीक्षापछि निर्णय लिने बताएका छन्।

सुझावित समाचार