डा. बाबुराम भट्टराईको प्रतिक्रिया–नीति तथा कार्यक्रम समग्रमा सकारात्मक तर, अपर्याप्त (भिडियोसहित)

मंगलबार, १० जेठ, २०७९
डिजिटल संस्करण

पूर्वप्रधानमन्त्री तथा जसपा संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले सरकारले ल्याएको नीति, कार्यक्रम सकारात्मक भएपनि अपर्याप्त रहेको बताएका छन् । भट्टराईले मंगलबार संसद बैठकमा प्रस्तुत भएको सरकारको नीति तथा कार्यक्रममा महत्वपूर्ण सुधारका संकेतहरू भएपनि पर्याप्त नभएको बताएका हुन् ।

उनले नीति तथा कार्यक्रम समग्रमा सकारात्मक भएको टिप्पणी गरे । आर्थिक विकास र समृद्धिलाई केन्द्रमा राखिनु सकारात्मक भएको उनले बताए । उनले भने, ‘नीति तथा कार्यक्रम समग्रमा सकारात्मक छ । यसमा केही महत्वपूर्ण सुधारहरू र संकेतहरू गरिएका छन् । आर्थिक विकास, समृद्धिलाई केन्द्रमा राखेर त्यसको प्राथमिकताका कुराहरू सकारात्मक छन् । तर, मेरो आफ्नो निजी विचारमा त्यति सामान्य सुधारले मात्रै पुग्दैन । नेपाल राज्यका जुन गम्भिर प्रकृतिका संरचनात्मक समस्या छन् । तिनको समाधान गर्ने हो भने आँट गर्नुपर्छ भन्ने मेरो सुझाव थियो । तर, त्यस अनुसार आउन सकेन । सुधारात्मक हिसाबले त यो ठिकै छ । तर यो अपर्याप्त छ । १९ को २० भयो ।’

उनले नीति तथा कार्यक्रमलाई लामो बनाउनु जरुरी नभएको पनि बताए । 

यस्तै, एमाले सांसद योगेश भट्टराईले नीति कार्यक्रममा कुनै नयाँ कार्यक्रम नभएको बताए । नीति कार्यक्रम सपना, उद्देश्य र गन्तव्यबिहीन भएको उनको टिप्पणी छ ।

उनले भने, ‘यो नीति, कार्यक्रम परम्परागत छ । यो नीति, कार्यक्रम झण्डै दुई घण्टा पढिएको छ । यो दुई घण्टाको समयमा यो नीति, कार्यक्रममा कुनै त्यस्तो नयाँ कार्यक्रमहरु छैन । कुनै नयाँ सपनाहरु छैन । र देशबासीहरुलाई, जनताहरुलाई सिंगो मुलुकलाई अपिल गर्ने कुनै त्यस्तो योजनाहरु यो नीति, कार्यक्रममा छैन । यसले कुनै उत्साह पनि दिएको छैन । सपनाबिहीन, उद्देश्यबिहीन, गन्तव्यबिहीन र यथास्थितिवादी नीति, कार्यक्रम छ । आउने वर्ष डरलाग्दो आर्थिक संकट हामीले सामना गर्नुपर्ने छ । मुलुक त्यता जादै छ ।’ 

सुझावित समाचार