पोखरामा ८ घन्टादेखि रोकिएको मतगणना सुरु

मंगलबार, १० जेठ, २०७९
डिजिटल संस्करण

बिहान ११ बजेबाट खाना खान भन्दै बाहिरिएका एमाले प्रतिनिधि मतगणना स्थल नफर्केपछि ८ घन्टासम्म रोकिएको मतगणना सुरु भएको छ । महानगरको वडा नम्बर १८ मा एमालेका वडाध्यक्षका उम्मेदवार तीन मतले पराजित भएपछि पुनः मतगणना गर्न एमालेले माग गरेर प्रतिनिधि मतगणनामा सहभागी नभएपछि स्थगित भएको थियो । 

एमाले पोखरा महानगर कमिटीका अध्यक्ष दिलीप न्यौपानेले पोखरा १८ को विषयमा थप छलफल गरेर अगाडि बढ्न प्रमुख निर्वाचन अधिकृतको कार्यालय सहमत भएकाले मतणना सुरु गर्न सहमत भएको जानकारी दिए । ‘वडा नम्बर १८ को विषयमा बसेर थप छलफल गर्न मुख्य निर्वाचन अधिकृतको कार्यालय सहमत भएपछि हामी मतगणना सुचारु गर्न सहमत भयौँ,’ उनले भने । 

यसअघि अध्यक्ष न्यौपानेले १८ मा सूर्य चिह्नमा मत हालिएका ९ वटा मतपत्र कर्मचारीको मिलेमतोमा गायब पारिएको आरोप लगाएका थिए । ‘वडा नम्बर १८ मा हाम्रो तर्फबाट अध्यक्षका उम्मदेवार पुस्कलबहादुर थापा तीन मतले पराजित हुनुभयो भनिएको छ । जब कि त्यहाँ नौ–नौवटा मत गायब छन् । ती सबै मत सूर्य चिह्नमा छाप हानिएका मत हुन् । कर्मचारीको मिलेमतोमा गायब पारियो भन्ने हाम्रो गम्भीर आशंका छ । त्यहाँ पुनः मतगणना नभई अन्यत्रको पनि गणना हुन सक्दैन भनेर हाम्रा प्रतिनिधि बाहिर बोलाएका हौैँ,’ उनले भनेका थिए ।

वडा नम्बर १८ मा कांग्रेसको तर्फबाट वडाध्यक्षका उम्मेदवार शिव तिमिल्सिनाले एक हजार ६४३ र नेकपा एमालेका उम्मदेवार पुस्कलबहादुर थापाले एक हजार ६४० मत ल्याएका छन् । कांग्रेसले विजय र्याली निकालिसकेको छ भने, एमालेका प्रतिनिधिले उक्त नतिजा आफूहरूका लागि स्वीकार्य नभएको भन्दै हस्ताक्षर गर्न मानेका थिएनन् । १८ नम्बरको निर्णय तत्कालका लागि थाती राखेर मतगणना सुरु गरिएको हो ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय पोखराका प्रमुख श्रीकृष्ण भट्टराईले एमालेले पुनः मतगणना गर्न दिएको निवेदनलाई कानुनी प्रक्रियाअनुरूप टुंग्याइने र बाँकी मतको गणना सुचारु गर्ने सहमति भएको जानकारी दिए । 

पोखरामा औपचारिक घोषणा गरिएको पछिल्लो मतपरिणामअनुसार एक लाख ३८ हजार २११ मत गणना हुँदा गठबन्धनको तर्फबाट मेयर पदका उम्मेदवार नेकपा एकीकृत समाजवादीका धनराज आचार्यले ५६ हजार ४७१ मत प्राप्त गरेका छन् । एमालेबाट मेयर पदका उम्मेदवार कृष्ण थापाले ५१ हजार १५८ मत प्राप्त गरेका छन् ।

उपमेयरमा नेकपा एमालेकी मञ्जुदेवी गुरुङले ५८ हजार ५८२ मत ल्याएकी छिन् । गठबन्धनको तर्फबाट कोपिला रानाभाटले ५४ हजार ५४७ मत प्राप्त गरेकी छिन् । 
पोखरामा वडा नम्बर १८ सहित ३० वटा वडाको मतगणना सम्पन्न भइसकेको छ । जसमध्ये कांग्रेसले २२ वटा वडा र नेकपा एमालेले ८ वटा वडामा जितेको छ । २०७४ को स्थानीय तह निर्वाचनमा एमालेले २२ वटा वडा र कांग्रेसले ११ वटा वडा जितेको थियो । 

पोखरामा एक लाख ४३ हजार १२६ मत खसेकोमा अब पाँच हजार २६८ मतको परिणाम सार्वजनिक हुन बाँकी छ ।

सुझावित समाचार