सरकारले वित्त र मौद्रिक नीतिको संयोजनबाट आर्थिक वृद्धि र स्थायित्व हासिल गर्ने लक्ष्य लिएको छ । सरकारले संघीय संसद्को संयुक्त बैठकमा पेस गरेको आर्थिक वर्ष २०७९–८० को नीति तथा कार्यक्रममा कृषि, यातायात, सूचना प्रविधि, उद्योगलगायतका क्षेत्रलाई आर्थिक सम्बाहकका रूपमा अगाडि बढाई आर्थिक पुनःउत्थानका कार्यक्रम ल्याउने उल्लेख छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले सम्बोधन गरेको नीति तथा कार्यक्रमअनुसार मुद्रास्फितिलाई वाञ्छित सीमाभित्र राखिने, राष्ट्रिय महत्वका, गौरव र रूपान्तरणकारी आयोजनाबाहेकका अन्य आयोजना प्रदेश र स्थानीय तहबाट कार्यान्वयन गरिने उल्लेख छ ।
तीनै तहका सरकारको समन्वय र संयोजनबाट प्राकृतिक स्रोत साधनको संरक्षण, उपयोग र लाभदायी बाँडफाँड गरिने विषयलाई सरकारले नीति तथा कार्यक्रममा प्राथमिकताका साथ उल्लेख गरेको छ ।
सफा कार्यक्रममार्फत औद्योगीकरणलाई अगाडि बढाई आन्तरिक उत्पादनमा वृद्धि गर्ने तथा नवीकरणीय ऊर्जामार्फत हरित अर्थतन्त्रलाई अगाडि बढाउने सरकारको लक्ष्य छ । सरकारले नीति तथा कार्यक्रमका आधारमा आगामी आर्थिक वर्षको बजेट १५ जेठमा बजेट ल्याउने छ । रासस