गोलबजार नगरपालिकामा एमाले विजयी

मंगलबार, १० जेठ, २०७९
डिजिटल संस्करण

सिराहाको गोलबजार नगरपालिकामा नेकपा एमाले विजयी भएको छ। गोलबजार नगरपालिका प्रमुखमा नेकपा एमालेबाट श्याम श्रेष्ठ दुई  हजार दुई सय सात  मतान्तरले विजयी भएका हुन् । उनले सात  हजार नौ सय आठ मत पाएका छन् भने निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रबाट निवर्तमान प्रमुख देवनाथ साहले पाँच हजार सात सय एक मत पाएका छन् । नेपाली कांग्रेसका राजदेव साह हलुवाईले चार हजार ६ सय ५९ मत पाएका छन् ।

उपप्रमुखमा नेकपा एमालेवाट मान्ती साह दुई हजार ६० मतान्तरले विजयी भएकी छिन् । उनले सात  हजार सात सय तीन  मत पाएकी छिन् भने निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका निवर्तमान उपप्रमुख रेशमकुमारी थापाले पाँच  हजार ६ सय ४३ र नेपाली कांग्रेसकी शान्ति सदायले चार हजार नौ ६५ मत पाएकी छिन् ।

यससँगै सिराहा जिल्लाको १७ वटै स्थानीय तहको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । गत वैशाख ३० गते गोलबजार नगरपालिका– ११ मा वर्षाको कारणले करिब चार सय मतदाताले मत खसाल्न नसक्दा जेठ ३ मा चुनाव भएको थियो । ढिलो गरी चुनाव भएर मतपरिणाम सार्वजनिक गर्न ढिलाइ भएको निर्वाचन अधिकृतको कार्यालय गोलबजारले जनाएको छ ।
 

सुझावित समाचार