काठमाडौं महानगरपालिकामा गठबन्धनका तर्फबाट एकीकृत समाजवादीका उपमेयरका उम्मेदवार रामेश्वर श्रेष्ठले पुनः मतगणना गर्न माग गरेका छन्। उनले जारी मतगणनामा कलम चिह्नमा परेका मतलाई समेत बदर मानिएको भन्दै उनले निर्वाचन अधिकृतको कार्यालयमा निवेदन दिएका हुन्।
श्रेष्ठले निवेदनमा कलम चिह्नको मतसंकेतलाई समेत बदर गरी गणना गर्दा मतपरिणाममा असर परी उपविजेता हुने उम्मेदवारले जित्ने र जित्ने उम्मेदवारले हार्ने अवस्थाको गणितीय अवस्था देखापरेको उल्लेख गरेका छन्।
‘प्रतिस्पर्धी उम्मेदवार नै नभएका कलम र रूख चिह्नमा मतसंकेत भएका मतपत्रमा म उम्मेदवार भएको कलम चिह्नको मतसंकेतलाई सदर मानी तत्काल पुनः दाेहोर्याई मतगणना गरी गणना हुन बाँकी मतपत्रसमेत गणना गरिपाऊँ,’ निवेदनमा भनिएको छ।

