पहिला गोलामा हारे, अहिले भारी मतले जिते

आइतबार, ८ जेठ, २०७९
डिजिटल संस्करण

कांग्रेसका हुकुमसिंह राईले झापाको कमल गाउँपालिकामा गत २०७४ को स्थानीय तह निर्वाचनमा ८ हजार २७५ मत ल्याएका थिए । उनका प्रतिद्वन्द्वी एमालेकी मेनुका काफ्लेले पनि त्यति नै मत ल्याएकी थिइन् । बराबरी मत भएपछि निर्वाचन आयोगले गोला गर्ने निधो गर्यो । 

गोलामा राई पराजित भए । उनी निरास भएनन् । यो पाँच वर्षमा जनताका समस्यासँग नजिक भए । उनी भन्थे–‘मलाई जनताले जिताएका हुन्, प्राविधिक कारण हारेँ, हरेस खाएको छैन । जनताको घरसम्म पुग्नेछु । जनताको सेवा गरिरहेनेछु ।’

यसपटक पनि उनी निर्वाचनमा उम्मेदवार बने । यसपटक भने भारी मतका साथ विजयी भएका छन् । उनको जितमा गठबन्धन पनि सहयोगी बन्यो । केन्द्रको पाँचदलीय गठबन्धन पूर्ण कार्यान्वयन भएको झापाको एक मात्र स्थानीय तह पनि यही हो । यसपटक उनले १२ हजार ५६८ मत ल्याए । जब कि उनका प्रतिद्वन्द्वी एमालेका भीम राईले ९ हजार ६५३ मत प्राप्त गरे । यद्यपि उपाध्यक्षमा भने गठबन्धन पराजित भयो । 

गठबन्धनका तर्फबाट माओवादीका पर्शुराम सुवेदीलाई एमालेकी प्रमिला न्यौपानेले पराजित गरिन् । न्यौपानेले १० हजार ८४५ मत ल्याउँदा सुवेदीले ८ हजार ३७१ मत मात्र पाए ।

वडामा भने मिश्रित परिणाम आएको छ । सातवटा वडा रहेको कमल गाउँपालिकामा चारवटा वडा एमालेले जितेको छ । अन्य तीनवटा वडा गठबन्धनले जितेको छ ।

राईले आफ्नो पहिलो प्राथमिकता सुकुमबासी समस्या समाधान रहेको बताए । ‘हाम्रो पालिकामा सुकुमबासी धेरै छन् । सुकुमबासी समस्या समाधानमा मेरो पहिलो प्राथमिकता रहनेछ । कमल गाउँपालिकाको प्रशासनिक भवन पनि बनाउनुछ । यो पनि प्राथमिकतामा रहन्छ,’ उनले भने, ‘नागरिकको स्वास्थ्य, शिक्षा पनि मेरो प्राथमिकतामा छ ।’

सम्पादकको रोजाइ

सुझावित समाचार