कैलालीमा नागरिक उन्मुक्ति पार्टीको उदय

आइतबार, ८ जेठ, २०७९
डिजिटल संस्करण

१३ मध्ये चार स्थानीय तहमा जित निकाल्दै बन्यो पहिलो दल

टीकापुर घटनामा जन्मकैदको सजाय भोगिरहेका निलम्बित सांसद रेशम चौधरीको पहलमा गठन भएको नागरिक उन्मुक्ति पार्टीले कैलालीमा सानदार जित हासिल गरेको छ । सत्तारूढ गठबन्धनका उम्मेदवारलाई हराउँदै नागरिक उन्मुक्तिले दुई नगरपालिकासहित चार पालिकाको नेतृत्व जितेर कैलालीमा सबैभन्दा बढी पालिका जित्ने पार्टी बनेको छ । 

टीकापुर र भजनी नगरपालिका तथा जोशीपुर र जानकी गाउँपालिकाको प्रमुखमा नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार भारी मतान्तरले विजयी भएका छन् । टीकापुरबाहेक तीनै तहको उपप्रमुख नागरिक उन्मुक्तिले नै जितेको छ । 

कानुनी व्यवधानले आफ्नो नाममा पार्टी दर्ता गर्न नपाएका रेशमले श्रीमती रञ्जिता श्रेष्ठको नाममा गत माघमा निर्वाचन आयोगमा पार्टी दर्ता गराएका थिए । ०७४ को निर्वाचनमा रेशम निर्वाचित भएको कैलाली १ अन्तर्गतका सबै पालिकामा नागरिक उन्मुक्ति पार्टीले जित हासिल गरेको छ । नागरिक उन्मुक्ति पार्टीले जितेका टीकापुर र जोशीपुर पूरै तथा भजनी र जानकीका केही वडा क्षेत्र नम्बर १ अन्तर्गत पर्छन् । यी थारू बहुल भएका पालिका हुन् । 

टीकापुर नगरपालिकाको प्रमुखमा सत्तारूढ गठबन्धनलाई तीन हजार मतान्तरले हराउँदै नागरिक उन्मुक्तिका रामलाल डगौरा थारू विजयी भए । थारू नौ हजार ६४२ मत ल्याएर विजयी हुँदा उनका निकटतम् प्रतिद्वन्द्वी कांग्रेसका नवराज रावलले ६ हजार ६४२ मत प्राप्त गरे । उपमेयरमा भने माओवादी केन्द्रका खडक शाह सात हजार ९५५ मत पाएर विजयी भए । नागरिक उन्मुक्ति पार्टीका उल्कादेवी विश्वकर्मा सात हजार ८०२ मत पाएर पराजित भइन् । टीकापुरका नौमध्ये नागरिक उन्मुक्तिले दुई वडा जितेको छ ।

जोशीपुर गाउँपालिकाको अध्यक्षमा नागरिक उन्मुक्ति पार्टीका चित्रबहादुर चौधरी विजयी भएका छन् । गठबन्धनबाट कांग्रेसका र बन्सराम बडायकलाई चौधरीले एक हजार ५३५ मतको अन्तरले हराए । चौधरीले चार हजार ९०३ र बडायकले तीन हजार ३६८ मत पाए । उपाध्यक्षमा नागरिक उन्मुक्ति पार्टीकै रेखादेवी कठरिया चार हजार ५८१ मत ल्याएर विजयी भइन् । माओवादी केन्द्रका दीर्घराज बिनाडी तीन हजार ९६१ मत पाएर पराजित भए । जोशीपुरका सातमध्ये चार वडामा नागरिक उन्मुक्तिका उम्मेदवार प्यानलसहित निर्वाचित भएका छन् ।

भजनी नगरपालिकामा गठबन्धनका उम्मेदवारविरुद्ध तीन हजार ७६८ मतान्तरले केवल चौधरी मेयरमा निर्वाचित भए । उनले आठ हजार ९६६ मत पाए । उनका निकटतम् प्रतिस्पर्धी निवर्तमान मेयरसमेत रहेका माओवादीका शेरबहादुर चौधरीले पाँच हजार १९८ मत प्राप्त गरे । उपमेयरमा नागरिक उन्मुक्तिकै राजु तिरुवा सात हजार ६२२ मत पाएर विजयी भइन् । कांग्रेसका गोकेन्द्र भण्डारी चार हजार ४९० मत पाएर पराजित भए । भजनीका नौवटा वडामध्ये नागरिक उन्मुक्ति पार्टीले तीन वडा जितेको छ । 

जानकी गाउँपालिकाको अध्यक्षमा नागरिक उन्मुक्ति पार्टीकै गणेश चौधरी र उपाध्यक्षमा लालमती रावत विजयी भए । चौधरीले सात हजार १५१ मत प्राप्त गरे । उनका निकटतम् प्रतिस्पर्धी कांग्रेसका परशुराम महतोले पाँच हजार २४२ मत पाए । उपाध्यक्षमा निर्वाचित कठरियाले ६ हजार ५६२ र निकटतम् प्रतिस्पर्धी एमालेकी गीता चौधरीले चार हजार ८५८ मत पाइन् । जानकीमा नागरिक उन्मुक्तिले नौमध्ये पाँच वडा जितेको छ ।

१३ वटा पालिका रहेको कैलालीमा कांग्रेसले तीन, एमाले र माओवादीले दुई–दुई र एकीकृत समाजवादीले एक स्थानीय जितेका छन् । अन्तिम मतपरिणाम आउन बाँकी रहेको धनगढी उपमहानगरमा स्वतन्त्र उम्मेदवारको जित सुनिश्चित छ ।

के थिए चुनावी मुद्दा ?
संविधान जारी हुनुअघि ०७२ भदौमा थरुहट प्रदेशको माग गर्दै भइरहेको आन्दोलनले टीकापुरमा हिंसात्मक रूप लियो । घटनामा आठ सुरक्षाकर्मी र एक नाबालकले ज्यान गुमाए । टीकापुर क्षेत्रमा थरुहट आन्दोलनको नेतृत्व गरिरहेका रेशम घटना भएपछि फरार भए । उनीसहितलाई अभियुक्त बनाएर अदालतमा मुद्दा चल्यो । रेशम भने फरार अवस्थामै ०७४ मा कैलाली १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भए । चुनाव जितेपछि कैलाली जिल्ला अदालतमा आत्मसमर्पण गरेका चौधरीसहित आठजनालाई जन्मकैदको सजाय भएको छ । 

घटनाको दोस्रो दिन टीकापुर क्षेत्रमा थारू समुदायका केही घरमा तोडफोड र आगजनी भयो । घटनापछि कैलालीको पूर्वी क्षेत्रमा थारू र पहाडी समुदायबीचको सामाजिक सद्भाव खलबलियो । थरुहट पक्षले अधिकारको आन्दोलनका क्रममा भएको घटना निर्दोषलाई जेल हालिएको भन्दै विरोध गर्दै आएको छ । टीकापुर घटना राजनीतिक भएकाले त्यसको समाधान पनि राजनीतिक रूपमै हुनुपर्ने उसको तर्क छ ।

३० वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा नागरिक उन्मुक्ति पार्टीले टीकापुर घटनालाई प्रमुख चुनावी मुद्दा बनाएको थियो । रेशमकी पत्नी अञ्जिताले आफ्ना श्रीमान् र टीकापुर घटनामा जेलमा रहेका थारू समुदायका व्यक्तिको न्यायका लागि भन्दै अनुनय गरिन् । टीकापुर घटनाको ‘न्यायका लागि एक मत’ भन्ने नाराले व्यापकता पायो । यही मुद्दाले नागरिक उन्मुक्ति पार्टीलाई ठूलो सफलता मिलेको धेरैको बुझाइ छ ।

टीकापुरका नागरिक अगुवा भीमराम चपाई नागरिक उन्मुक्तिको जितमा रेशमसँग जोडिएको मुद्दाले थारू, पछि परेका जानजातिका मतदातालाई भावनात्मक रूपमा आकर्षित गरेको ठान्छन् । ‘बाटो, बिजुली, शिक्षा, स्वास्थ्यजस्ता विकासभन्दा पहिचानको आन्दोलनमा हामीमाथि अन्याय भयो भन्ने प्रमुख मुद्दा थियो । रेशमजीसँग जोडिएको भावनाको विषय पनि भयो,’ चपाईले भने, ‘पहिचानको मुद्दाले पछि परेको वर्गलाई पनि जोड्यो ।’ नागरिक उन्मुक्तिले थारू समुदायका मत मात्रै पायो भन्न नमिल्ने उनको भनाइ छ । पार्टीका कमिटीहरूमा दलित, पहाडी मूलका व्यक्तिलाई पनि जिम्मेवारी दिइनुले पहाडी समुदायको मत पनि नागरिक उन्मुक्तिलाई तान्न सजिलो भएको चपाईको बुझाइ छ ।

टीकापुर बहुमुखी क्याम्पसका प्रमुख केशरबहादुर कुँवर पनि टीकापुर घटनाको मुद्दाले बहुसंख्यक थारू समुदायलाई आकर्षित गरेको हुन सक्ने बताउँछन् । पार्टी गठन भएको छोटो समयमै ठूलो उपलब्धि हासिल गर्नुमा पार्टीको नीति, सिद्धान्त, चुनावमा उठाएका विकासका मुद्दाभन्दा भावनात्मक विषयले प्रधानता पाएको देखिएको उनको बुझाइ छ । ‘टीकापुर घटनामा रेशम चौधरीसहित थारू समुदायका केही व्यक्ति जेलमा छन् । उनीहरूको मुक्तिका कुरा उहाँहरूले उठाउनुभयो । यसले बहुसंख्यक थारू समुदायलाई भावनात्मक रूपमा आकर्षित गरेको देखिन्छ,’ कुँवरले भने, ‘टीकापुर घटनाको सहानुभूतिले मतदातालाई आकर्षित गर्यो ।’ निर्वाचन आयोगले गत १८ माघमा नागरिक उन्मुक्ति पार्टी दर्ताको प्रमाणपत्र दिएको थियो । यो पार्टीले कैलालीका ११ तहमा उम्मेदवार उठाएको छ । 

नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष श्रेष्ठले ०७४ र अहिलेको चुनावमा व्यक्त जनमतले रेशम दोषी होइनन् भन्ने देखाएको बताइन् । चुनावमा आफ्नो पार्टीले टीकापुर घटनालाई प्रमुखताका साथ उठाएको, तर जातीयताका आधारमा चुनाव जित्यो भन्नु गलत भएको उनको भनाइ छ । टीकापुर घटनामा थारू समुदायमाथि अन्याय भएको र निर्दोषलाई जेल हालिएको विषय जनतालाई बुझाउन खोजेको उनले बताइन् । ‘हामीले मूलतः टीकापुर घटनाको विषयलाई उठायौँ । योसँगसँगै विकासका मुद्दा पनि थिए,’ उनले भनिन्, ‘रेशमजीकै पहलमा यो पार्टी गठन भएको हो । उहाँलाई साथसमर्थन गर्नेहरूले हामीलाई सहयोग गरे ।’ 

See More On

सुझावित समाचार