जिल्लाको छायानाथ रारा नगरपालकाका नवनिर्वाचित मेयर विष्णुकुमार भामले थार्पमष्टो, ऋणमोक्ष र छायानाथ ठाकुरीज्यूको घन्टी छोएर शुक्रबार पदभार ग्रहण गरेका छन् । आफ्नो पाँचवर्षे कार्यकालमा सेवाग्राहीलाई दु:ख–कष्ट नदिने, भ्रष्टाचार कमिसन नखाने भन्दै नगर प्रमुख भामले देवताको घन्टी छोएर कसम खाँदै पदभार गरेका छन् ।
त्यति मात्र नभएर भामले जनताको नाममा आएको रकमप्रति नजर नलगाउने स्थानीयलाई सेवाप्रवाह छिटो छरितो गर्ने बाचा कसम खाएर प्रसिद्ध देवताका दुईवटा घन्टी समाती पदभार सम्हालेका छन् ।
कुनै पनि सेवा सुविधा नलिने प्रतिबद्धता

नगरबाट प्राप्त हुने कुनै पनि सेवा–सुविधा नलिने पाँच वर्षको पारिश्रमिक बजेटबाट १ देखि १४ वडाका बिरामीका लागि एम्बुलेन्स उपलब्ध गराउने प्रतिबद्धता गरेका छन् ।
नगरका सम्पूर्ण बस्तीमा विद्युत् सेवा विस्तार गर्ने गमगढी बजारलाई स्वच्छ सफा राख्ने तथा नगरवासीलाई स्वच्छ खानेपानीको व्यवस्था मिलाउने भामले बाचा गरेका छन् । उनले यसअघि वडाध्यक्ष हुँदा पनि पाँच वर्षको पारिश्रमिकको रकमले नगरका गरिब, दलित र जेहेन्दारलाई राहत वितरण गरेका थिए ।