सिराहाको सुखीपुर नगरपालिकामा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । मेयरमा रामऔतार यादव र उपमेयर रेणुदेवी साह विजयी भएका हुन् ।
मेयर यादवले चार हजार चार सय ३४ र उपमेयर रेणुदेवी साहले चार हजार ६ सय १४ मत प्राप्त गरेका छन् । यादवका निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टी नेपालका जीवछ यादवले तीन हजार एक सय १२ मत प्राप्त गेरका छन् । उपमेयर पदमा निकटतम प्रतिद्वन्द्वी जसपाकी सज्ञानदेवी महतोले तीन हजार एक सय ५६ मत ल्याएकी छिन् । कुल १० वडा रहेको सुखीपुरमा एमालेले २, ३, ५, ६, ७, १०, नेपाली कांग्रेसले ४, ८, माओवादी केन्द्रले १ र नेकपा (एकीकृत समाजवादी) ले ९ नम्बर वडामा जित निकालेको छ ।
सुखीपुर नगरपालिकामा मेयर यादव र उपमेयर साह दुवैजना दोहोरिएका जनप्रतिनिधि हुन् । शनिबार बिहानसम्म मतगणनाको अन्तिम नतिजा घोषणा गरिएका आठ गाउँपालिका र ६ नगरपालिकामा सखुवानन्कारकट्टी गाउँपालिकामा निवर्तमान अध्यक्ष केदारनाथ यादव अध्यक्ष र नरहा गाउँपालिकाकी उपाध्यक्ष गुलावदेवी चौधरी पुनः उपाध्यक्ष पदमा दोहोरिएका छन् भने त्यसबाहेकका स्थानीय तहका मुख्य पदमा नयाँ अनुहार निर्वाचित भएका छन् ।