अछामको पञ्चदेवल विनायक नगरपालिकामा कांग्रेस विजयी

शुक्रबार, ६ जेठ, २०७९
डिजिटल संस्करण

अछामको पञ्चदेवल विनायक नगरपालिकामा कांग्रेसकी उम्मेदवार अम्बिका चलाउने मेयरमा विजयी भएकी छिन् । उनी जिल्लाको पहिलो महिला मेयर बनेकी छिन् । अहिलेसम्म मतगणना सकिएका नाै स्थानीय तहमध्ये चलाउने एक्ली महिला पालिका प्रमुख  हुन् । 

नाै पालिकामा अन्य कुनैमा पनि महिला अध्यक्ष वा मेयरको उम्मेदवार थिएनन् । यसअघि पञ्चदेवल विनायक नगरपालिकाको उपमेयर रहेकी चलाउने यसपटकको चुनावमा तीन हजार ६ सय ५३ मत ल्याएर जित हासिल गरेकी हुन् । उनका निकटतम् प्रतिद्वन्द्वी माओवादी केन्द्रका रामबहादुर विक तीन हजार एक सय ७२ मत ल्याएर पराजित भए । 

चलाउने र उनका निकटतम् प्रतिद्वन्द्वी माओवादी केन्द्रका रामबहादुर विकबीचको मतान्तर चार सय ८१ छ । मेयरका अर्का प्रतिस्पर्धी एमालेका नन्दबहादुर कडायतले दुई हजार ६ सय ९७ मत प्राप्त गरे । एकीकृत समाजवादीका योगेन्द्रबहादुर विष्टले ६ सय ९२ र स्वतन्त्र उम्मेदवार टंक तिमिल्सेनाले एक सय ५४ मत मात्रै प्राप्त गरेर पराजित भए । नगरको उपमेयर पनि कांग्रेसले नै जितेको छ । 

उपमेयरमा कांग्रेसका उम्मेदवार हर्कबहादुर रावल  चार हजार एक ८८ मत ल्याएर विजयी भएका छन् । उनका निकटतम् प्रतिद्वन्द्वी माओवादीकी रीता रावलले दुई हजार ६ सय १८ मत प्राप्त गरिन् । एमालेका राजु संज्यालले दुई  हजार तीन सय दुई र समाजवादीका कृष्णा जैसी (न्यौपाने) ले आठ सय ७८ मत प्राप्त गरे ।

अछाममा अब जिल्लाको साँफेबगर नगरपालिकाको मतपरिणाम आउन बाँकी छ । त्यहाँ एउटा वडामा विवादका कारण मतदान नै रोकिएपछि ढिलो भएको हो । अन्य नाै स्थानीय तहमध्ये ६ वटामा कांग्रेस, दुईमा एमाले र एउटामा माओवादी केन्द्र विजयी भएका छन् । 

See More On

सुझावित समाचार