गोडैतामा लोसपा विजयी, प्रदेश सांसदबाट राजीनामा दिएका कांग्रेसका कुशवाह पराजित

बिहिबार, ५ जेठ, २०७९
डिजिटल संस्करण

सर्लाहीको गोडैता नगरपालिकामा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले जित निकालेको छ । नगरपालिकामा लोसपाका तर्फबाट उम्मेदवार बनेका देवेन्द्रकुमार यादव पुनः मेयरमा निर्वाचित भएका हुन् । यादवले ५४२ मत अन्तरले निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उपेन्द्रकुमार कुशवाहलाई हराएका हुन् । विजयी भएका यादवले ५२९४ मत प्राप्त गर्दा कुशवाहले ४७५२ मत मात्र प्राप्त गरे । कुशवाह २०७४ सालको प्रदेश सभाको निर्वाचनमा सर्लाही क्षेत्र नम्बर ४ को (ख)बाट प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए । उन्ले मधेस प्रदेश सांसदबाट राजीनामा दिएर मेयरमा उम्मेदवारी दिएका थिए ।

यस्तै, उपमेयरमा लोसपाकी अञ्जना कुशवाह निर्वाचित भएकी छिन् । उनले ५३०१ मत प्राप्त गरिन् । उनकी निकटम प्रतिस्पर्धी नेपाली कांग्रेसकी रामसखी देवीले ४४९३ मत मात्र प्राप्त गरिन् । वडा अध्यक्षतर्फ १ मा माओवादी केन्द्रका सोजित महतो, २ मा माओवादी केन्द्रकै अजयप्रसाद साह, ३ मा लोसपाका विजयप्रसाद यादव, ४ मा लोसपाका राजाराम साह, ५ मा लोसपाका प्रकाशप्रसाद गुप्ता, ६ मा नेपाली कांग्रेसका सचिन्द्र महतो, ७ मा लोसपाका विनेशकुमार दास, ८ मा एमालेका मिरेन्द्र किशोर झा विजयी भएका छन् । 

वडा नम्बर ९ मा नेपाली कांग्रेसका दसै सहनी, १० मा एमालेका बैद्यनाथ मण्डल, ११ मा एमालेका विश्वनाथ पण्डित र १२ मा लोसपाका केशवकुमार विजयी भएका छन् । निर्वाचित मेयर यादव र उपमेयर कुशवाह २०७४ सालमा तत्कालीन राष्ट्रिय जनतापार्टी (राजपा) बाट मेयर र उपमेयरमा निर्वाचित भएका थिए ।
 

सुझावित समाचार