नागरिक उन्मुक्ति पार्टीले कैलालीको थप एक पालिकामा जित हासिल गरेको छ। भजनी नगरपालिकामा गठबन्धनबाट मेयरका उम्मेदवार नेकपा माओवादी केन्द्रका शेरबहादुर चौधरीलाई पराजित गर्दै रेशम चौधरीको दल नागरिक उन्मुक्ति पार्टीका केवल चौधरी निर्वाचित भएका हुन्।
मेयरमा निर्वाचित चौधरीले आठ हजार नाै सय ६६ मत पाएका छन्। उनका निकटतम् प्रतिद्वन्द्वी माओवादीका उम्मेदवार चौधरीले पाँच हजार एक् सय ९८ मत प्राप्त गरे। ०७४ को स्थानीय तह निर्वाचनमा मेयरमा निर्वाचित उनी यसपालिको चुनावमा पराजित भएका हुन्।
उपमेयरमा पनि नागरिक उन्मुक्ति पार्टीकै राजु तिरुवा सात हजार ६ सय २२ मत पाएर विजयी भइन्। गठबन्धनबाट उपमेयरका उम्मेदवार नेपाली कांग्रेसका गोकेन्द्र भण्डारीले चार हजार चार सय ९० मत पाए। भजनीका नौवटा वडामध्ये नागरिक उन्मुक्ति पार्टी र माओवादीले तीन–तीन तथा एमालेले दुई र कांग्रेसले एक वडा जितेको छ।
कैलालीमा पालिका प्रमुखमा नागरिक उन्मुक्ति पार्टीको यो तेस्रो जित हो। बिहीबार नै सार्वजनिक भएको मतपरिणामअनुसार टीकापुर नगरपालिका र जोशीपुर गाउँपालिकाको प्रमुखमा पनि नागरिक उन्मुक्ति पार्टीकै उम्मेदवार विजयी भएका छन्।