मुगुमा नयाँ जनप्रतिनिधिलाई शुक्रबार शपथ गराइने

बिहिबार, ५ जेठ, २०७९
डिजिटल संस्करण

मुगुको एक नगरपालिका र तीन गाउँपालिकाको मतगणना सम्पन्न भई नतिजासमेत सार्वजनिक भइसकेको छ। मतगणनाको अन्तिम परिणाम आएसँगै जिल्लाका चारै स्थानीय तहमा नयाँ जनप्रतिनिधिहरू निर्वाचित भएका छन्।

नवनिर्वाचित जनप्रतिनिधिहरूको शपथग्रहण भोलि शुक्रबार २ बजे जिल्ला समन्वय समितिको हलमा गरिने कार्यक्रम रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालय मुगुका सहायक निर्वाचन अधिकृत तथा सूचना अधिकारी प्रकाश थापाले जानकारी गराए।

चारैवटा पालिकाका प्रमुखलाई मुख्य निर्वाचन अधिकृतले तथा उपप्रमुख, वडाध्यक्ष र सदस्यहरूलाई पालिका प्रमुखहरूले शपथ गराउनेछन्। आज बिहीबार नै सबै पालिकाका नवनिर्वाचित प्रमुख, उपप्रमुख, वडाध्यक्ष र सबै सदस्यहरूलाई प्रमाणपत्र वितरण गरिने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

मुगुका चार स्थानीय तहका ४५ वडामा दुई सय ३३ नयाँ जनप्रतिनिधि निर्वाचित भएका छन्। छायानाथ–रारा नगरपालिकामा मेयर, उपमेयर, १४ वडाध्यक्ष र सदस्यहरू गरी ७२, खत्याड गाउँपालिकामा अध्यक्ष, उपाध्यक्ष, ११ वडाध्यक्ष र सदस्य गरी ५७ जना, सोरुमा अध्यक्ष, उपाध्यक्ष, ११ वडाध्यक्ष र सदस्यहरू गरी ५७ जना र मुगम–कार्मारोङमा अध्यक्ष, उपाध्यक्ष, नाै वडाध्यक्ष र सदस्यहरूसहित ४७ जना निर्वाचित भएका छन्।

सुझावित समाचार