जसले नगरप्रमुखमा दोब्बरभन्दा बढी मतले जिते

बिहिबार, ५ जेठ, २०७९
डिजिटल संस्करण

काभ्रे जिल्लामा वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनको नतिजा धमाधम आइरहेको छ । जिल्लामा १३ स्थानीय तह रहेकोमा पाँच स्थानीय तहको नतिजा आइसकेको छ । जसमा भुम्लु गाउँपालिका, खानीखोला गाउँपालिका, चौँरीदेउराली गाउँपालिका, बनेपा नगरपालिका र नामोबुद्ध नगरपालिकाको मतपरिणम आइसकेको छ । नमोबुद्ध नगरपालिकामा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार कुन्साङ लामाले नगरप्रमुखमा आफ्ना प्रत्याशीलाई दोब्बरभन्दा बढी मतान्तरले पछि पार्दै विजय हासिल गरेका छन् ।

निर्वाचन अधिकृतको कार्यालय भकुण्डेका अनुसार लामा ११ हजार दुई सय ११ मत प्राप्त गरी नगरप्रमुखमा निर्वाचित भएका छन् । लामाका प्रत्याशी राजन भुर्तेलले पाँच हजार आठ सय २२ मत प्राप्त गरी नगरप्रमुखमा पराजित भएका छन् । लामा र भुर्तेलको मतान्तर पाँच हजार तीन सय ८९ मत रहेको छ । लामा नेपाली कांग्रेस नमोबुद्ध नगर सभापति हुन् भने भुर्तेल नेकपा एमाले जिल्ला सचिव हुन् ।

उक्त नगरपालिकामा नगर उपप्रमुखमा गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका उम्मेदवार रत्नबहादुर लामा विजयी भएका छन् । लामाले आठ हजार एक सय ८७ मत प्राप्त गरी विजयी भएका हुन् भने उनका प्रत्याशी सम्झना लामा ६ हजार पाँच सय ४३ मत प्राप्त गरी पराजित भएकी छिन् । यसअघि उक्त नगरपालिकाको नगरप्रमुख र उपप्रमुख एमालेले  जितेका थिए । यसपालि एमालेले दुवै गुमाउनुपरेको छ ।

त्यसरी नै बनेपा नगरपालिकामा सत्तागठबन्धनका तार्फबाट नेपाली कांग्रेसका उम्मेदवार शान्तिरत्न शाक्य नगरप्रमुखमा निर्वाचित भएका छन् । उपप्रमुखमा एमालेकी उम्मेदवार विमला सापकोटा दाहाल निर्वाचित भएकी छिन् । नगरप्रमुखमा शाक्यले १३ हजार सात सय ९३ मत प्राप्त गरेका छन् भने उनका प्रत्याशी रत्नकुश रञ्जितकारले ११ हजार आठ सय ३५ मत प्राप्त गरेका छन् । त्यसरी नै नगर उपप्रमुखमा दाहालले ११ हजार नाै सय ९२ मत प्राप्त गरेकी छिन् भने उनका प्रत्याशी सत्तागठबन्धनका तर्फबाट एकिकृत समाजवादी पार्टीका उम्मेदवार रघुबर चौ प्रधानले १० हजार पाँच सय १५ मत प्राप्त गरेका छन् ।

यसअघि नै भुम्लु र खानीखोला गाउँपालिकाको नतिजा सार्वजनिक भइसकेको छ । दुवै स्थानीय तहमा सत्तागठबन्धनका उम्मेदवार विजयी भएका थिए ।
 

See More On

सम्पादकको रोजाइ

सुझावित समाचार