हलेसी तुवाचुङ नगरपालिकामा कांग्रेस विजयी

बिहिबार, ५ जेठ, २०७९
डिजिटल संस्करण

हलेसी तुवाचुङ नगरपालिकाको प्रमुखमा कांग्रेसकी विमला राई र उपप्रमुखमा कांग्रेसकै रमेश राउत विजयी भएका छन् । विमलाले आफ्ना निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका खडेन्द्रकुमार राईलाई तीन सय ५१ मतले तथा राउतले नेकपा माओवादी केन्द्रका उम्मेदवार अमेम्बर राईलाई दुई सय ७३ मतले पछि पार्दै प्रमुख र उपप्रमुखमा विजयी भएका हुन् । 

विमलाले ६ हजार तीन सय १७ मत ल्याएर विजयी हुँदा खडेन्द्रले पाँच हजार नौ सय ६६ मत प्राप्त गरेको निर्वाचन अधिकृत संगीता न्यौपाने ‘ढुंगेल’ले जानकारी दिइन् । निर्वाचन अधिकृत ढुंगेलका अनुसार उपप्रमुखमा राउतले पाँच हजार नौ सय ३४ मत ल्याएर विजयी हुँदा राईले पाँच हजार ६ सय ६१ मत मात्र ल्याएका छन् । 

दश स्थानीय तह रहेको जिल्लामा विमला नगरप्रमुखमा निर्वाचित हुने पहिलो महिला बनेकी छिन् । वि.सं. ०७४ सालको निर्वाचनमा कांग्रेसबाटै उपप्रमुखमा विजयी विमलाले यस वर्षको निर्वाचनमा एमाले र माओवादी केन्द्रको अघोषित गठबन्धनलाई पराजित गर्दै प्रमुखमा विजयी भएकी हुन् । 

११ वडा रहेको यस नगरपालिकामा तीनवटा वडाबाहेक अन्य सबैमा कांग्रेसका उम्मेदवार वडाध्यक्षमा विजयी भएका छन् । वडा नं. ६ मंगलटारमा नेकपा माओवादी केन्द्रका गण राई तथा वडा नं. १० अर्खौलेमा एमालेका अर्जुनकुमार पुरी र वडा नं. ११ राजापानीमा एमालेकै अनिस कार्की विजयी भएका हुन् । 

अघिल्लो निर्वाचनमा प्रमुख र उपप्रमुखसहित सात वडा जितेको कांग्रेसले यसपटकको निर्वाचनमा थप एक वडाध्यक्षसहित पुनः प्रमुख र उपप्रमुख दुवै जितेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । कांग्रेसबाट वडा नं. १ बाहुनीडाँडामा रुद्रकुमार राई, वडा नं. २ डिकुवामा देवेन्द्रकुमार राई, वडा नं. ३ च्यास्मिटारमा भूपालसिं राई, वडा नं. ४ बडहरेमा किशोरकुमार बस्नेत, वडा नं. ५ दुर्छिममा रुपेन्द्रकुमार राई, वडा नं. ७ महादेवीस्थानमा कमल गिरी, वडा नं. ८ धितुङमा टेकराज राई र वडा नं. ९ सल्लेमा काशीराज राई विजयी भएका छन् । 

सम्पादकको रोजाइ

सुझावित समाचार